इटहरी : नेपाल सरकारका गृहमन्त्री रबी लामिछानेले सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ । गृहमन्त्री नै सहकारी ठगीमा मुछिएपछि सहकारी ठगीका घटना एकपछि अर्को गरी बाहिर आउन थालेका छन् ।

यहीँ वैशाख २१ गते मात्र सुनसरीको इटहरीबाट सहकारी ठगीमा संलग्न ४ जना पक्राउ परे । इटहरी उपमहानगरपालिका ९ मा रहेको खनार बचत तथा ऋण सहकारी संस्थाको १ करोड ५० लाख रकम हिनामिना गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

सहकारीका अध्यक्ष सुदिप तामाङ, उपाध्यक्ष सरोज सिवाकोटी, सदस्य गोविन्द कुमार श्रेष्ठ र व्यवस्थापक धर्मेन्द्र दास पक्राउ परेका हुन् । चारै जनालाई जिल्ला अदालत बाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनसरीको बराह सहकारीबाट सुरु भएको सहकारी ठगी प्रकरण अहिले मुख्य सहरमा व्याप्त छ । इटहरीकै अम्बे सहकारीका सञ्चालकहरू समेत ठगीमा पक्राउ परिसकेका छन् ।