झापा : झापाको गौरादह जेसीजले नाट्य कार्यशाला गोष्ठी सुरु गरेको छ ।

जेसीजले गौरादह नगरपालिका वडा नं १ सँगको सहकार्यमा उक्त गोष्ठी सुरु गरेको हो ।

दुर्व्यसनी बढ्ने क्रममा परिवार समाज र राष्ट्रको नभएर अन्तर्राष्ट्रिय रूपमा समस्या र चुनौतीको विषय बनिरहेको अवस्थामा नाटक मार्फत जनचेतना फैल्याउन नाट्य कार्यशाला गोष्ठी सुरु भएको गौरादह जेसीजका अध्यक्ष खड्ग थापाले बताए ।

दुर्व्यसनी विरुद्ध सचेतना फैल्याउन, निबन्ध प्रतियोगिता, स्कुलमा गएर सचेतना फैल्याउने, वक्तृत्वकला प्रतियोगिता तथा नाटक प्रदर्शन मध्ये नाटक प्रदर्शन रोजेर सोही अनुसार अघि बढिएको अध्यक्ष थापाले बताए ।

'कला साहित्यको पनि विकास हुने व्यवसायी नाटकको रूपमा जानका निमित्त यो नाट्य कार्यशाला कोशे ढुङ्गो साबित हुने महसुस गरेर नाट्य कार्यशाला सुरु गरेका हौ', अध्यक्ष थापाले भने ।

दुर्व्यसनी विरुद्ध सचेतना फैल्याउने र गौरादहमा साहित्य कला र नाटकको विकास गर्ने मुख्य उद्देश्य रहेको उनले प्रस्ट पारे ।

नाट्य कार्यशालामा विभिन्न ठाउँ विभिन्न क्षेत्रका मानिसहरू शिक्षक, विद्यार्थी, जेसिजकर्मी सामाजिक सङ्घ संस्थामा काम गर्ने व्यक्तित्वहरू सहभागी भएको अध्यक्ष थापाले बताए । यो नाट्य कार्यशालाले समाजमा नयाँ आयाम थप्ने विश्वास लिएको उनले बताए ।

२२ जना सहभागी रहेको नाट्य कार्यशाला ८ गते सम्म चल्ने र ९ गते देखी विद्यालय, अभिभावक शिक्षक र विद्यार्थीहरूलाई लक्षित गरेर प्रदर्शनी गरिने अध्यक्ष थापाले जानकारी दिए ।

२०२४ को पहिलो महिना जनावरीमा गौरादह जेसीजको कार्यभार सम्हालेका अध्यक्ष थापाले समाजमा सचेतना मूलक विभिन्न कार्यहरू गर्दै आइरहेका छन् ।

थापा अध्यक्ष पदमा निर्वाचित भएयता नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर रविन पोखरेल प्रमुख आतिथ्यमा जेसीज दशक स्मारिका अङ्कुरण विमोचन एवम् जेसीज साँझ कार्यक्रममा गजलकार प्रदीप रोदन, रङ्गकर्मी तथा कवि भरत बर्बरिक, कवि खगेन्द्र न्यौपाने, कवि रिता पोख्रेलको रचना वाचन गौरीगञ्ज बहुमुखी क्याम्पस, गौरीगञ्जमा हात्तीपाइले रोग विरुद्ध विद्यार्थी अभिमुखीकरण कार्यक्रम, गौरादह नगरपालिका २ नम्बर वडामा समुदायमा पनि सचेतना कार्यक्रम सञ्चालन गरिसकेका छन् ।

साथै वर्ष २०२४ भरि लागुऔषध दुर्व्यसनी अभियान सञ्चालन अन्तर्गत राय, सुझाव सङ्कलन तथा अन्तर्क्रिया कार्यक्रम, समुदाय केन्द्रित सचेतना कार्यक्रम पनि सम्पन्न भइसकेको छ ।