इटहरी : नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशन जेठ ५ गते सुरु हुँदैछ । नयाँ कमिटी गठन गर्ने गरी अधिवेशनको तयारीमा एमाले जुटेको हो ।

वर्तमान अध्यक्ष रेवतीरमण भण्डारीले पुनः दोहोर्‍याउने इच्छा व्यक्त नगरेपछि खेमराज पोखरेल र निलम खनाल बिच प्रतिस्पर्धा हुने भएको छ ।

सातौँ अधिवेशनमा भण्डारी सँग १४५ मतान्तरले पराजित भएका पोखरेलले पुनः अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । पोखरेल सँगको प्रतिस्पर्धामा हालका उपाध्यक्ष निलम खनाल चुनावी मैदानमा होमिएका छन् ।

विगतमा प्राविधिक तयारी नपुगेको कारण निर्वाचन परिणाम आफ्नो पक्षमा नआएको बताएका पोखरेल यस पटक अध्यक्ष हुने विश्वासमा छन् । सुनसरी एमालेको पहिलो पुस्तामा आँफु मात्र नेतृत्वमा नपुगेको बताउँदै उनले यस पटक न्याय हुने आशा गरेका छन् । 

‘म स्वाभाविक उम्मेदवार हो । पहिलो पुस्ताको प्रतिनिधित्व गरेको हुँदा सर्वसम्मत अध्यक्षको लागि अनुरोध गरेको छु । सुनसरीमा कमजोर बन्दै गएको एमालेलाई पुनः शक्तिशाली बनाउने मेरो एक मात्र उद्देश्य छ । प्रतिनिधि कमरेडहरूले जम्मा एक कार्यकाल काम गर्ने अवसर दिनुहुन्छ होला,’ कपुरी न्युजसँग कुरा गर्दै उनले भने ।

२०२७ सालमा भगवती माविको स्ववियु सचिव त्यसपछि भूमिगत राजनीतिमा होमिएका हुन् पोखरेल । दशबर्ष जिल्ला पार्टी कार्यालयको सचिव भएका उनी तदर्थ समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका नेता हुन् । ‘सातौँ महाधिवेशन देखि अध्यक्ष केपी शर्मा ओलीको लाइनमा लागेको मान्छे हुँ म । मलाई कुन समूह र कुन गुट थाहा छैन । नेतामा केपी ओली थाहा छ। सिद्धान्तमा जबज थाहा छ । अरू म जान्दिन,’ थप प्रस्ट पार्दै उनले थपे ।

उपाध्यक्ष खनालले सहमतिमै नेतृत्व चयन हुनसक्ने सम्भावना रहेको बताए । एमालेलाई बचाउन आफू अध्यक्ष हुनैपर्ने भएर उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । ‘खेमराज कमरेडले धेरै अवसर पाउनु भएको छ, वहाँ अघिल्लो पटक हारिसक्नु भयो । अब बिदा लिँदा हुन्छ । म उपाध्यक्ष भएपछि मेरो हक अधिकारको कारण पनि अध्यक्ष हुनुपर्ने हो ।, उनले भने, ‘सुनसरी जिल्ला पार्टीलाई एक ढिक्का बनाएर लैजाने र पार्टी भित्रको आन्तरिक तुस हटाउन म सक्छु भन्ने छ ।’

आफूले मन पराएका मान्छेलाई समर्थन गर्न पाइने तर गुटबन्दी गर्न नपाइने भन्दै उनले दोब्बर मतान्तरले चुनाव जित्ने दाबी गरे । 

सुनसरी जिल्ला अधिवेशनको निर्वाचनमा आयोजक कमिटी सहित ६९८ प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् । प्रतिनिधिको १० प्रतिशत मनोनीत गर्न पाउने व्यवस्था छ । विवाद रहित भएको अवस्थामा मनोनीत प्रतिनिधिले समेत मतदान गर्न पाउँछन् । 

नेकपा एमालेले अधिवेशनकै सन्दर्भमा शुक्रवार इटहरी उपमहानगरपालिका अगाडी रक्तदानको कार्यक्रम आयोजना गरिएको छ । अधिवेशन प्रचारप्रसार समितिले अधिवेशनको माहौल सृजना गर्न विविध कार्यक्रम आयोजना गरिरहेको छ ।  

जेठ ५ गते शनिवार इटहरीको लायन्स भवनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अधिवेशनको उद्घाटन गर्ने भएका छन् । ६ गते बन्द सत्र हुने र ७ गतेदेखि निर्वाचनका कार्यक्रम अगाडी बढ्ने एमालेले जनाएको छ ।