धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सञ्चारकर्मीहरूलाई कुनै पनि ठाउँमा समाचारको लागि भिडियो खिच्न रोक्नु प्रेस स्वतन्त्रता विरोधी कार्य हुने बताएका छन् ।

‘दिव्य रोशनी’ साप्ताहिकको २०औँ वार्षिकोत्सवमा शुक्रवार उनले भने ‘यहाँ भिडियो फोटो नखिच्नु भन्ने, खिच्न हुँदैन भन्ने कुराहरू आउन थालेको छ, यो गलत कुरा हो ।’ उनले आफू प्रेस स्वतन्त्रता पक्षधर भएको बताए ।

यसै साता विष्णुपादुकामा मेयर साम्पाङको श्रमदान अभियानमा गएको समूह र स्थानियबासी बिच झडप हुँदा उनीसँगै गएको युट्युबरको टोलीलाई स्थानियबासीले भिडियो खिच्न रोक लगाएका थिए ।

यसअघि विष्णुपादुकाका स्थानियबासी खानेपानीको समस्या लिएर धरान उपमहानगरपालिकामा प्रतिनिधि मण्डल आउँदा मेयर साम्पाङको कार्यकक्षमा भएको चर्काचर्कीको भिडियो नखिच्न प्रतिनिधि स्थानियबासीले आग्रह गर्दै दबाब समेत दिएका थिए ।

मेयर साम्पाङ समर्थकहरूले उक्त घट्नामा खिचेको भिडियो फोटो लिएर व्यक्तिको मानमर्दन, बेइज्जती हुने टिकटक समेत बनाएपछि विवाद चर्किएको थियो । टिकटकमा प्रतिनिधि मण्डलमा आएको महिलालाई वडाध्यक्षको लभर भनी सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने सम्मको अश्लील भाषा प्रयोग समेत गरिएको थियो ।

विष्णुपादुकामा भएको विवादमा मेयर साम्पाङ चरित्रहत्या गरिएकोमा माफी माग्दै फेसबुक मार्फत ‘त्यस्तो कार्य कसैले गर्न नहुने सार्वजनिक आग्रह’ गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि मेयर साम्पाङले उक्त घट्नाका बारेमा भने केही उल्लेख गरेनन् । उनले मेयरको कार्यकक्षमा सबै पत्रकारलाई कुनै बेला आएर समाचारको लागि फोटो, भिडियो खिच्न आफूले कुनै रोकटोक नगर्ने बताए ।

‘दिव्य रोशनी’ साप्ताहिककी सम्पादक/प्रकाशकले मनिता चाम्लिङले भने युट्युबरहरुले विषयवस्तु भन्दा फरक उत्तेजनात्मक शीर्षक दिएर भिडियो राख्ने गरेकोले समाजमा गलत सन्देश गइरहेको बताउँदै कार्यशैली सुधार गर्नुपर्ने कुरामा जोड दिइन् ।

वार्षिकोत्सवको केक काटेर सम्पादक/प्रकाशक मनिता चाम्लिङले मेयर साम्पाङ साम्पाङलाई खुवाएकी थिइन् । उक्त अवसरमा वरिष्ठ पत्रकार हर्ष सुब्बा, इलाका प्रहरीका डिएसपी मानबहादुर राई, महिला सञ्जाल अध्यक्ष सपना राई, वडा ४ का अध्यक्ष धनबहादुर राई, सम्मानित युवा समाजसेवी निश्चल पलिखेले पत्रिकाको निरन्तरताको शुभकामना प्रकट गरेका थिए ।

उक्त अवसरमा ३ जना पत्रकारलाई ५ हजार ५०५ रुपैयाँको दरले पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृतहरूमा रोहितकुमार बस्नेत, स्नेहा श्रेष्ठ, शेखर योगी छन् ।

Divya-Roshani-2