काठमाडौँ : यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य' को नयाँ ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि  सङ्गीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ ।

१३ वर्ष अघि नै निर्माण भएर प्रदर्शन भएता पनि भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउने असार ७ गते देखि फिल्मको पुन : प्रदर्शन गर्न लागेको हो । यस पटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ ।

चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन् । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन् । ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन भने सुनिल पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरूलाई समेत  देख्न सकिन्छ ।

रोशन राई निर्माता रहेको फिल्मलाइ प्रशान्त रसाइलीको निर्देशन बनेको हो। फिल्मलाइ देवजंग थापाले पुन: सम्पादन गरेका हुन् ।