धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी उपमहानगरपालिकामा आएको बेला प्रमुख प्रशासकीय अधिकृत चाँडो पठाइदिन आग्रह गरेका छन् ।

मन्त्री जोशीले आइतबार मेयर हर्क साम्पाङलाई कार्यकक्षमा भेटघाट गर्न आएका थिए । मन्त्री जोशीले प्रमुख प्रशासकीय अधिकृत चाँडै पठाउन पहल गर्ने बताउँदै उपमहानगरपालिकामा सहसचिव पठाउनु पर्ने भएकाले मन्त्री स्तरीय निर्णयबाट नमिल्ने भएकाले क्याबिनेटबाटै निर्णय गर्नुपर्ने बताए ।

मेयर साम्पाङले मन्त्रीलाई भने ‘धरानमा प्रमुख प्रशासकीय नभएर बढो तनाव भएको स्थिति छ ।’ प्रशासकीय प्रमुख नभएको ५ देखि ६ महिना भएकोले प्रशासनको काम पनि आफै हेर्दै गरेको बताएका थिए ।

मेयर साम्पाङले भने ‘यहिको एक जनालाई प्रशासकीय प्रमुख बनाएको कामै नलाग्ने भएर उतै पठाएको छु ।’

उपमहानगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलासँग मेयर साम्पाङको निर्णय प्रमाणीकरणको विषयमा विवाद भएपछि उनले काठमाडौँ गएर उतैबाट सरुवाको स्वीकृति लिएका थिए । निमित्त समेत हिँडेपछि धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन छ ।

मन्त्री जोशीले मेयर साम्पाङलाई एक साता भित्र प्रमुख प्रशासकीय अधिकृत पठाउने आश्वासन दिएका छन् । मन्त्रीले भने ‘क्याबिनेटको बैठक भोली सोमबार बस्दै छ ।’ क्याबिनेटले सहसचिवहरूका बारेमा निर्णय गर्दा बैठकमा धरानलाई प्राथमिकता दिएर कुरा उठाउने वचन उनले दिएका हुन ।