इटहरी : ट्राफिक व्यवस्थापन कार्यमा उपयोग गर्न इटहरी स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई अटो सिटी बजाज सोरुम सञ्चालक प्रदीपकुमार सन्थालियाले ४ थान विद्युतीय ट्याम्पो प्रदान गरेका छन् ।

कोशी प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक चन्द्रकुबेर खापुङ मार्फत आइतबार व्यवसायी सन्थालियाले उक्त टेम्पोहरु कार्यालयलाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख खापुङले विद्युतीय ट्याम्पोले ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन कार्यमा सहजता पुग्ने विश्वास व्यक्त गरे ।

खापुङले उक्त ट्याम्पो ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई १ थान, समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि परिचालन गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियालाई १/१ थान हस्तान्तरण गर्दै सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतना कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिए ।

दाता सन्थालियाले ट्राफिक प्रहरीको काम कारबाहीमा सहजता तथा प्रभावकारी ट्राफिक व्यवस्थापनको लागि विद्युतीय ट्याम्पो प्रदान गरेको बताए ।

कोशी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, सुनसरी जिल्ला प्रहरी प्रमुख विपिन रेग्मी कार्यक्रममा उपस्थित थिए ।