धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित रोटरी क्लब अफ धरान फुटहिल्सले सुनसरीको देवानगञ्जमा ३०० भन्दा बढी स्थानिय समुदायलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।

उनीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि समेत वितरण गरी सेवा प्रदान गरिएको हो । देवानगञ्जबासीका लागि क्लबले शनिवार निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

क्लबकी अध्यक्ष प्रतिष्ठानकी फिजियोलोजी विभागकी एडिशनल प्रोफेसर डा.रिता खड्काका अनुसार शिविरमा महिला बिरामीहरू धेरै सङ्ख्यामा आएका थिए । स्वास्थ्य जाँचका आएका बिरामीहरूमा हड्डी, दाँत, आँखा, छाला रोगका धेरै थिए ।

शिविरमा १०० जना भन्दा बढीको ब्लड प्रेसर, सुगर परीक्षण गरिएकामा अधिकांश औषधी सेवन गर्दै आएका र सेवन नगरेकाहरूले नियमित जाँच नगराउँदा उचित परामर्श नपाइरहेको डा.खड्काले बताइन् ।

शिविरमा बिपी प्रतिष्ठानको बालरोग, हाड तथा जोर्नी विभाग, स्त्री रोग, छालारोग, आँखा, दन्त चिकित्सा, शल्यक्रिया, समान्य तथा आपतकालिन चिकित्सा विभागबाट १८ जना डाक्टरहरूको टोलीले बिरामीहरूको परीक्षण गरेका थिए । उनीहरूका साथ प्रतिष्ठानका जुनियर डाक्टरहरू सहित ४५ जनाको टोली शिविरमा संलग्न थिए ।

शिविरमा निःशुल्क औषधी वितरणको लागि नेपाल मेडिकल एन्ड सेल्स रिप्रेजेन्टिभ एसोसिएसनले सहयोग गरेको बताइएको छ । चिकित्सकको टोलीका लागि सिद्धार्थ शिशु सदनले यातायातको व्यवस्था गरेको थियो ।

देवानगञ्ज स्थित अमरसिंह माविमा सञ्चालित शिविरमा आयोजित उद्घाटन समारोहमा गाउँपालिका प्रमुख वेचन प्रसाद मेहता प्रमुख अतिथि थिए । सभापतित्व वडा ५ का अध्यक्ष मनोजकुमार मण्डलले गरेका थिए । रोटरी अध्यक्ष डा.रिता खड्काले शिविरका बारेमा प्रकाश पारेकी थिइन् ।

Devangunj Health Checkup 2