धरान : नेपाल पत्रकार महासङ्घको सदस्यता विवाद अरू चुलिएको छ । विभिन्न जिल्लामा पत्रकार सम्बद्ध सङ्गठनहरूले तालाबन्दी गरेसँगै सुनसरीमा पनि प्रेस युनियनले आज बुधवार तालाबन्दी गरेको छ ।

प्रेस युनियनका सुनसरी जिल्ला सचिव बाबुराम कार्कीको नेतृत्वमा गएको युनियनको टोलीले धरान १३ अमरहाट स्थित कार्यालयमा तालाबन्दी गरेको हो । 

महासङ्घको चुनाव गर्न जारी सदस्यता नामावलीमा रातारात गैर पत्रकारको नाम थपिएको, कार्यरत पत्रकारको नाम हटाइएको आरोप युनियनले लगाएको छ । 

सचिव कार्कीका अनुसार शुद्धीकरणका लागि परेका उजुरी अध्ययन भई जेठ २८ गते टुङ्गो लगाइएको अन्तिम नामावलीमा रातारात हेरफेर गर्दै जिल्ला र प्रदेशबाट सिफारिस नै नभएका नाम थप्ने काम भएको छ । उनले भने, ‘त्यसको विरोधमा तालाबन्दी गरिएको हो ।’

पत्रकार महासङ्घको विधान अनुसार सुनसरी जिल्ला शाखाले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै प्रक्रिया विधान मिचेर जारी गरिएको सूची प्रेस युनियन सुनसरी शाखाले नमान्ने उनले बताए ।

उक्त सदस्यताको सूचि सुनसरी जिल्ला शाखाले सिफारिस गरी पठाए अनुसार सुधार नभए सम्म सङ्गठनको विरोध जारी रहने युनियन जिल्ला कोषाध्यक्ष मात्रिका प्रसाद नेपालको भनाई छ ।

तालाबन्दी गर्दै युनियनले कार्यालयको ढोकामा टाँसेको सूचनामा भनिएको छ, ‘नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाद्वारा सिफारिस गरिएको सदस्यहरू पुन:कायम नभएसम्मका लागि नेपाल पत्रकार महासङ्घ सुनसरी शाखामा तालाबन्दी गरिएको जानकारी गराउँदछौँ । तालाबन्दीबाट उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति हुनेछ ।’

nepal press union talabandi news 2

nepal press union talabandi news 3

nepal press union talabandi news 4