दमक : झापाको दमकमा आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । दमक नगरपालिका २ स्थित आफ्नै घरको माथिल्लो तलामा टिनको ट्रस्ट लगाउने क्रममा बिजुलीको पोलको तारमा टिन छुन गई करेन्ट लाग्दा ६२ वर्षका खगेन्द्र राईको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि दमक स्थित राईको घर नजिकै रहेको आम्दा अस्पताल लगिएको थियो । उपचारको क्रममा राईको आज बिहान सवा १० बजेतिर मृत्यु भएको दमक प्रहरीले जानकारी दिएको छ ।

यसैबिच, नेपाल बिद्युत् प्राधिकरण कार्यालय दमकको लापरबाहीका कारण राईको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले प्राधिकरणको दमक वितरण केन्द्रमा दबाब दिएका थिए । उनीहरूले मृतक परिवारले राहत पाउनुपर्ने माग गरेका थिए । दमक नगरपालिका प्रमुख राम कुमार थापा, दमक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा, दमक बिद्युत् कार्यालयका प्रतिनिधि, मृतक पक्षका आफन्त समेत बसेर भएको छलफलमा तीन बुँदे सहमति भएको छ ।

नगरपालिकाले किरिया खर्च बापत ५० हजार दिने, बिद्युत् कार्यालयले तत्काल ३० हजार दिने र उपल्लो बिद्युत् कार्यालयसँग धेरैभन्दा धेरै क्षतिपूर्ति उपलब्ध गराउनको लागि स्थानीय निकाय, बिद्युत् प्राधिकरणले संयुक्त रूपमा माग गर्ने सहमति भएको इलाका दमक प्रहरी कार्यालय दमकले जनाएको छ ।

jhapa ma current lagera mrityu 2