झापा : झापाको बिर्तामोड नगरपालिका ४ की ६७ वर्षीय विष्णुकुमारी विष्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालय भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रहरीले विष्टको हत्या भएको २२ दिनपछि अपराधमा संलग्नलाई सार्वजनिक गरेको हो ।

प्रहरीले घटनामा संलग्न बिर्तामोड-४ का २२ वर्षीय गङ्गाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० वर्षीय वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगीरथ राजवंशी र ४३ वर्षीय धनबहादुर कामीलाई सार्वजनिक गरेको हो ।

घटनाका मुख्य योजनाकार गङ्गाप्रसाद सहित चार जना विष्टका छिमेकी हुन् भने कामी चोरीको सामान किन्ने पसलका सञ्चालक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अर्जुनधारा-६ का कामीको हनुमान सुन पसल रहेको छ । त्यस्तै महेश घटनाका मतियार रहेको, गङ्गाप्रसादकी पत्नी वर्षा चोरेको सामान लुकाउन सहयोगी भएको र भगीरथ चोरीको सामान बेच्न सहयोगी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरूको साथबाट मृतक विष्टको सुनको चुरा, सिक्री, कानको टप, जन्तर लगायत सुनका सामग्री बरामद गरिएको छ । राजवंशीले ट्युबवेलको छेउमा उक्त सुनका सामग्री माटोमा गाडेको अवस्थामा प्रहरीले भेटेको थियो ।

करिब तीन कट्ठा जग्गामा कम्पाउन्ड गरेर एकतले घरमा छोरीको छोरा अर्थात नातिसँग बस्दै आएकी विष्टको वैशाख २६ गते माता तीर्थ औँसीको दिन हत्या भएको थियो ।

नाति घर गएको तथा विष्ट घरमा एक्लै भएको अवस्थामा उनी मृत भेटिएकी थिइन् । उनको रड तथा खन्तीले हानेर हत्या गरिएको प्रहरीले सोही समय पुष्टि गरेको थियो ।

प्रहरीका अनुसार मृतकको शव भुईँमा रगतमा लटपटिएको र कोल्टे परेको अवस्थामा भेटिएको थियो । एकल महिला विष्टका जेठा छोराको परिवार अमेरिका र कान्छो छोराको परिवार काठमाडौँमा बस्दै आएका छन् ।

प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुर समेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही सङ्केत दिएपनि लिटल फ्लावर्स स्कुल दक्षिण पुगेपछि अल्मलिएको थियो । सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी अनारमनीको प्रहरीको टोलीले संयुक्त अनुसन्धान गरेका थिए ।

jhapa ma bridha hatya 2

jhapa ma bridha hatya 3