धरान : नेपाली काँग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ कोसी प्रदेशको प्रथम अधिवेशन भएतापनि प्रदेश कार्यसमिति निर्माण गर्न आयोजित अधिवेशनले कार्यसमिति चयन भने गर्न सकेन ।

निर्वाचन समितिले बुधवार साँझ पत्रकार सम्मेलन आयोजन गरी अधिवेशनको बाँकी कार्य केन्द्रीय समितिलाई सुम्पेको जानकारी दिएको छ । संयोजक उत्तम सिंह थाङदेनले भने, ‘प्राविधिक कारणले कार्यसमिति गठन हुन सकेन ।’

महासङ्घको प्रथम प्रेस अधिवेशन मङ्गलवार कांंग्रेस नेता सहमहामन्त्री भीष्म आङदेम्बेले उद्घाटन गरेका थिए । खुला सत्र औपचारिक रूपमा राम्रो सम्पन्न भएको थियो । बन्द सत्रमा आयोजक समिति र सहभागी प्रतिनिधि बिच समन्वय अभाव र प्राविधिक कारणले स्थगित भएको बताइएको छ ।

काँग्रेस निकट लिम्बु सङ्घका केन्द्रीय अध्यक्ष समेत रहेका थाङदेनले भने, ‘बन्द सत्रमा सहमतिबाटै कार्यसमिति चयन गर्ने प्रयास भएको थियो ।’ तर अबेर रात भएकोले समय अभावका कारण प्रयास सफल हुन सकेन ।

उनका अनुसार अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी परेकाले अन्य पदमा समेत आवश्यकता भन्दा बढी उम्मेदवार परेपछि सहमतीय कार्यसमितिको निर्माण गर्न कठिन भएको थियो । निर्वाचन संयोजक थाङदेनले भने, ‘अबेर रात भएपछि प्रतिनिधिहरू अधिवेशन स्थल छाडेर घर गएका कारण चुनावी प्रक्रिया गराउन सकिएन ।’

विधि र प्रक्रियाले चुनाव गराउन ५१ प्रतिशत प्रतिनिधिहरू आवश्यक पर्ने भएको तर चुनावी प्रतिस्पर्धा गराउन प्रतिनिधि सङ्ख्या नपुग भएको कारण समितिले निर्वाचन स्थगित गर्नु परेको उनले बताए ।

थाङदेनका अनुसार अधिवेशनमा वैधानिक प्रतिनिधि मतदाता सङ्ख्या ६०० जना थियो । तर चुनाव हुने अवस्थामा एक तिहाइ पनि उपस्थित थिएनन् । उनले भने, ‘परिस्थिति निर्वाचन समितिको क्षेत्राधिकार भन्दा बाहिर गयो ।’

सहमतिका लागि प्रयास गर्दा पनि सहमतीय कार्यसमिति नबनेका कारण बन्द सत्र स्थगित गर्नुको कारण सहितको प्रतिवेदन सहित केन्द्रीय समितिलाई अगाडिको प्रक्रिया पुरा गर्न जिम्मा दिइएको उनले बताए ।

काँग्रेसका कोसी प्रदेशका महामन्त्री उमेश थापाले पनि अध्यक्ष पदमा सर्वसम्मत गराउन प्रयास गरेका थिए । केन्द्र समितिको निर्णयले मात्र अब कोसी प्रदेश कार्यसमिति गठन प्रक्रिया अघि बढ्ने उनले बताए ।

उद्घाटनमा काँग्रेस नेताहरू दिलमान पाख्रिन, तारामान गुरुङ, महेन्द्र सुब्बा, ओमबहादुर घर्ती मगर, निवर्तमान कोसी प्रदेश मुख्यमन्त्री उद्धव थापा लगायतको उपस्थित थियो । उद्घाटन संयोजक बिश्वदिप लिङदेनको सभापतित्वमा भएको थियो ।