इटहरी : नेकपा एमाले इटहरी नगर अधिवेशन यही जेठ ३० गतेदेखि हुने भएको छ। इटहरी उपमहानगर कमिटीले जेठ ३० देखी ३२ सम्मको लागि अधिवेशनको मिति तय गरेको हो ।

केन्द्रीय महाधिवेशन पछि प्रदेश महाअधिवेशन गरेको एमालेले जिल्ला र नगरको अधिवेशन धमाधम गरिरहेको छ । एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनको निर्वाचन मार्फत नयाँ कार्यसमिति चयन भइसकेको छ । जिल्ला पछि पालिका अधिवेशन सुरु भएको एमालेले जनाएको छ ।

वर्तमान अध्यक्ष यामकुमार सुब्बा इटहरी उपमहानगरपालिकाको मेयर पराजित भएसँगै कार्यबहाकको जिम्मेवारी सचिव रुपेश बस्नेतले पाएका छन् । अध्यक्ष सुब्बा एमाले जिल्ला अधिवेशनबाट उपसचिवमा निर्वाचित भएको कारण नगर अधिवेशनको अध्यक्षता बस्नेतले गर्ने भएका छन् ।

बस्नेतले आगामी नेतृत्वको समेत दाबी गरिरहेका छन् । सुब्बाले पनि उनै बस्नेतलाई सहयोग गर्ने सङ्केत दिएका छन् । उता केन्द्रीय सदस्य लक्ष्मी गौतम र निवर्तमान जिल्ला अध्यक्ष रेवती रमण भण्डारीको सहयोग कसलाई रहने यकिन भएको छैन ।

स्थानीय तह निर्वाचनमा वडा नम्बर ६ को अध्यक्षमा पराजित उमेश पौडेल समेत अध्यक्ष उम्मेदवार बन्ने तयारीमा छन् । उनलाई भण्डारी र गौतमले सहयोग गर्न सक्ने एमालेका स्थानीय नेताहरूले आङ्कलन गरेका छन् । पौडेलले नेता कार्यकर्तासँग परामर्श गरिरहेको र केही दिनमै औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने बताए । नगरको नेतृत्व गर्ने मनसाय भएपनि नेता कार्यकर्ताको राय सल्लाह पर्खिरहेको उनको भनाइ छ ।

युवासंघ सुनसरी अध्यक्ष सुजन लामाले समेत बलियो दाबेदारी प्रस्तुत गरेका छन् । युवासंघमा बलियो प्रभाव बनाएका उनी भूगोल, युवा तथा विद्यार्थी प्रतिनिधिको मतले निर्वाचित हुनेगरि तयारीमा छन् । युथफोर्स प्रदेश संयोजक राजन बानियाले लामालाई अध्यक्ष बनाउने गरी अभियान अगाडी बढाएका छन् ।

लामाले युवा पुस्ताको प्रतिनिधित्व गर्दै नेतृत्व लिने गरी रणनीति बनाएका छन् । वडाबाट नै युवा प्रतिनिधि बढी आउने भएपछि निर्वाचित हुनेगरि उनी अभियानमा छन् । इटहरीका अग्रज नेतृत्व सँग लामाले सम्बन्ध प्रगाढ बनाउँदै लगेका छन् । केन्द्रीय स्तरमा समेत प्रभावशाली सम्बन्ध भएका उनी युवासंघको अभियान मार्फत स्थानीय कार्यकर्ता सँग जोडिएका छन् । जसले उनको उम्मेदवारी प्रभावशाली बनाएको छ ।

यस पटकको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ । बस्नेतले कार्यबहाक अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेको र पार्टी कार्यकर्ता माझ परिचित भएकाले उनी प्रभावशाली देखिएका छन् । पार्टी भूगोलको राजनीतिमा परिचित उनले यसअघि पनि सचिवको कार्यकारी पद सम्हालेको हुनाले मूल नेतृत्वमा स्थापित हुने सम्भावना देखिन्छ । बस्नेतले प्रत्येक स्थानीय कार्यकर्ता सँगको सम्पर्क र सम्बन्धलाई बलियो बनाउँदै लगेका छन् । जसको कारण निर्वाचन परिणाम आफ्नो पक्षमा हुने उनको विश्वास छ ।

उपाध्यक्ष लगायत अन्य पदाधिकारीमा दाबी गर्ने नेताहरू अझै खुलेका छैनन् । सचिवमा सुनिल कार्कीले भने उम्मेदवारी दिने तयारी गरेका छन् । हाल वडा नम्बर ४ का पार्टी अध्यक्ष समेत रहेका उनी बगैँचा टोल विकास समितिको सफल अध्यक्ष हुन् । युवासंघ मार्फत पार्टी राजनीतिमा होमिएका उनी इटहरीका परिचित युवा नेता हुन् ।