धरान : मधेस केन्द्रित दलबाट अलग्गिएर छुट्टै राष्ट्रिय मुक्ति क्रान्ति पाटीका संयोजक बनेको पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालमा कम्युनिष्टहरुले आदिवासी समुदायको संस्कृति, सभ्यता र पहिचान मेटाउन लागेको आरोप लगाएका छन् ।

धरानमा शनिवार वृहत् मोटरसाइकल र्‍याली पछि होटेल इजी राइडर्समा भएको सभामा उनले भने ‘कम्युनिष्टहरुले उत्पीडित नेपाली जनताको घाउमा नुन छर्कँदै पहिचान नामेट गर्न खोजेका छन् ।’

उनले प्रदेश नम्बर १ को नाम सीमित सत्ताधारी जातिको एकल गोत्रिय र नश्लिय नाम कोशी राखेर आदिवासीको पहिचान कुल्चिएर जबरजस्ती राखिएको बताए । उनले भने ‘यो पञ्चायतको कोशी अञ्चललाई नै निरन्तरता दिदैं राखिएको नाम हो ।’

संयोजक महतोले गोखाली औपनिवेशिकता विस्तार गर्दै एकल राष्ट्रिय राज्यलाई बलियो बनाउन संविधानले नचिन्ने सिडिओ शक्तिशाली बनाइएको बताउँदै संघियतालाई पङ्गु र राज्यलाई असफल बनाउने कार्यको विरुद्ध बहुल राष्ट्रिय राज्य स्थापनाको लागि राष्ट्रिय मुक्ति क्रान्तिको अभियान सुरु भएको बताए ।

उनले भने ‘बहुराष्ट्रिय राज्यले मात्र लिम्बु, खम्बु, कोच, मधेसी लगायत सम्पूर्ण राज्यविहीन राष्ट्रका जनताहरू राजत्व प्राप्त सक्छन् ।’   

उनका अनुसार पहिलो चरणको आन्दोलनपछि दोस्रो चरणको घोषणा जेठ ६ देखी सुरु भएको आन्दोलनको कार्यक्रम स्वरूप आज धरानमा आमसभा गरिएको हो । महतोले जेठ २१ मा दाङको घोराही र २४ जेठमा काठमाडौँको इटुम्बहालमा आमसभा राखिएको बताए ।

२६ जेठमा विराटनगरमा कोशी नामकरणको विरोधमा प्रदर्शन, २९ जेठमा ढोरपाटन सिकार आरक्ष विरुद्ध प्रदर्शन, १ असारमा सर्लाहीको लालबन्दीमा मधेसी पहाडी एकता प्रदर्शन र ४ असारमा काठमाण्डौंको माइतीघरबाट स्वशासन विधान घोषणा गरिने बताए ।

धरान-८ सिरिजंगा चौक तीनकुनेबाट सुरु भएको मोटरसाइकलले बजार परिक्रम गरेको थियो । र्‍यालीमा महतो र नेता बुद्ध छिरिङ मोक्तान पनि सहभागी थिए ।

नेता मोक्तानले एकल राष्ट्रिय राज्यद्वारा राज्यविहीन बनाएका याकथुङ लिम्बु, राई लगायतको आत्मनिर्णय सहितको स्वशासन माग गर्दै आन्दोलन सुरु भएको बताए ।

राष्ट्रिय मुक्ति क्रान्ति योङ इन्डिजिनिस्ट लिग संयोजक सनम लिम्बु, युवा नेता सन्तोष मेहता, रामदेव मेहेताल पनि आन्दोलनमा सबलाई सहभागी बन्न आव्हान गरे ।

पूर्वीकमाण्ड धरान विशेष ब्युरो संयोजक श्याम श्रेङ लिम्बूको सभापतित्वमा भएको सभामा पूर्वी कमान्ड इन्चार्ज रमेश योङहाङ, किराँत राष्ट्र मुक्ति मोर्चाकी सुनिता किराँती, एसएन चाम्लिङ राई लगायतको उपस्थिति थियो ।