धरान : काँग्रेसका स्थानिय नेताहरूले यसअघि भएका गल्ती, कमजोरीलाई सुधार गर्ने सङ्कल्प कार्यकर्ताहरूका अगाडि गरेका छन् ।

धरान-१७ पटनालीमा शनिवार भएको भेलामा कार्यकर्ताहरूले स्थानिय नेतामा विकृति, विसङ्गति, खराब आचरण, झुट बोल्ने प्रवृत्तिको खुलेर गुनासो गरेका थिए ।

उनीहरूले नेता भनाउँदाहरूको गलत प्रवृत्तिका कारण कार्यकर्तामा पार्टीप्रति वितृष्णा पैदा भएको अनुशासनहीन, आन्तरिक गुटबन्दी, पार्टी हित विपरीतका कार्यहरू भएको बताए ।

कार्यकर्ता भेटघाट, चियापान काँग्रेस सुनसरी-१ को आयोजनामा भएको हो । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद ममता तामाङले विगतमा भएका गल्ती कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाउँदै विकासका कार्यमा सक्रिय हुन आग्रह गरिन् ।

उनले योजना छनौट र बजेट निर्माणको कार्य भइरहेको हुँदा पटनालीको स्थानीय आवश्यकताका योजनाहरू समयमै सम्बन्धित निकायमा पेस गर्न कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिइन् ।

सभापति सुजेन्द्र तामाङले पार्टीले कसैलाई विभेद नगरेको बताए । पटनाली, चतरा, भरौल, बक्लौरी सबै स्थानिय नेताहरूलाई अवसर प्रदान गर्ने प्रतिबद्धता जनाए ।

काँग्रेस प्रदेश सभा खका सभापति धरान-१६ का वडाध्यक्ष मुरारी भट्टराईले जनताको सुखदुखमा, सेवामा र विकास निर्माणमा लागे मात्र सङ्गठन मजवुद हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रमको समापन विगतमा भएका आ-आफ्ना कमी कमजोरीहरूलाई सुधार गर्दै अघि बढ्ने सङ्कल्प गर्दै भएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति विभाग प्रदेश प्रमुख आनन्द सन्तोषी राई, क्षेत्रीय सचिव केशव पुरी, १७ वडा सभापति सुरज कार्की, लक्ष्मीराम कार्की, तारा खत्री, भलबहादुर दाहाल, गोपाल बस्नेत, वसन्त खत्री, बालकुमार निरौला, रेविना दाहाल लगायतले आ-आफ्ना भनाई राखेका थिए ।

congress sudhaar news 2