इनरुवा :  श्रोत नखुलेको १ करोड १ लाख रुपैयाँको नगद नोट लिएर हिँडिरहेको अवस्थामा शनिवार राती सुनसरीको हरिनगर-५ स्थित दुर्गा मन्दिर छेउबाट एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिनगर-५ का ३७ वर्षीय ईसा अन्सारी रहेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका हुन् । उनका अनुसार उक्त रकम अवैध हुन्डी कारोबारीहरूको हुनसक्ने आशङ्कामा नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त रकम बरामद भएको सह प्रवक्ता थापाले बताए ।

बरामद रकम १ हजार दरको नोट ९ हजार ७ सय थान ९९७ लाख र ५ सय दरको ८ सय थान ९४ लाख रहेको छ ।

थापाले भने, ‘प्रारम्भिक सोधपुछमा अन्सारीले उक्त रकमको स्रोत खुलाउन सकेनन् ।’ नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको उनले बताए ।