धरान : स्वास्थ्य संस्था तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मी स्थानीय परिस्थितिमा उत्पन्न हुनसक्ने सुरक्षा जोखिमका लागि विद्यमान कानुनको प्रावधानको विषयमा आइतबार छलफल भएको छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, न्यायिक निकाय, जनप्रतिनिधि, प्रशासन, राजनीतिक दलका बिच छलफल नेपाल चिकित्सक सङ्घ केन्द्रीय समितिले आयोजना गरेको हो।

सहभागीहरूले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ पहिले संशोधन २०७९ का व्यवस्था तथा  कमीमा सहभागीले ध्यानाकर्षण गराए ।

छलफलमा धरान वडा १६ का अध्यक्ष मुरारी भट्टराईले स्वास्थ्यकर्मीको व्यवहार राम्रो नहुने गरेकोले कानुनले मात्र सुरक्षा दिन नसक्ने अवस्था सिर्जना हुने बताए ।

स्वास्थ्यकर्मीले स्वास्थ्यमा राजनीति हुने गरेकोले पनि अप्रिय स्थिति सिर्जना हुने गरेको उनको भनाई थियो ।

वडाध्यक्षले भट्टराईले भने, ‘चिकित्सकको राजनीति र राजनीतिक हस्तक्षेपले समस्या भएको हो ।’ पत्रकार सन्तोष काफ्लेले स्वास्थ्यकर्मीको व्यवहार सुधार्नुपर्ने बताए ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोज घिमिरेले सबैलाई कानुन समान रूपमा लाग्ने बताए । सबै पक्षले आफ्ना कमजोरी सुधार गर्नुपर्ने उनको भनाई थियो ।

चिकित्सक सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्कीले पत्रकारलाई सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे । उनले यूट्युबरलाई पत्रकार नमान्ने बताउँदै भने, ‘एक यूट्युरबले गलत सूचना सम्प्रेषण गरेकोमा उजुरी गरेर कारबाहीको प्रक्रिया अघि बढेको छ ।’