झापा : कोशी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।

त्यसका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज अपराह्न ४ बजे प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

त्यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।

यसैबिच, प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको काँग्रेस सोमबारको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको छ ।

आजदेखि प्रदेश सभा बैठकमा सहभागी हुने नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।