इटहरी : इटहरी उपमहानगरपालिकाले सडकको धुलो पखाल्न 'रोड वासर कम स्प्रिङकलर' प्रयोगमा ल्याएको छ । पानी ट्याङ्कीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्छ ।

सडकको किनारामा रोपिएका बिरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्न समेत यसको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए ।

उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवा पखाल्ने काम गर्छ ।’ उपमहानगरले सफा र हरियाली स्मार्ट सडकको अवयव भएको बताउँदै सहरलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि यो साधन खरिद गरेको मेयर पौडेलले बताए ।

इटहरी उपमहानगरले ६५ लाखमा 'रोड वासर कम स्प्रिङकलर' खरिद गरेको हो । मेयर पौडेलले रोड वासर कम स्प्रिङकलरले सहरलाई सफा बनाउन र सुन्दर बनाउन सहयोग गर्ने बताए । उनले भने, ‘उपमहानगरपालिका भित्र आवश्यकता अनुसार समय तालिका बनाएर प्रयोगमा ल्याउँछौँ ।’

प्राविधिकहरूका अनुसार यसले आगलागीको वेला आगो निभाउन पनि सहयोग गर्नेछ ।

Road Washer