धरान : महेन्द्र बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सहित विद्यार्थी सङ्गठनहरूले व्यवस्थापन सङ्कायसँग बिबिएसको कक्षा समय परिवर्तन गर्न माग गरेका छन् ।

पहिले देखी विबिएसको कक्षा बिहान ११ बजे देखी ३ बजेको समयमा सञ्चालन हुँदै आएको छ । उक्त समयलाई परिवर्तन गरी बिहान ६ बजे देखी ११ बजे सम्म कक्षा सञ्चालन गर्न सङ्गठनहरूले माग गरेका हुन ।

क्याम्पसमा स्नातक तहका अधिकांश विद्यार्थीहरू आत्मनिर्भर रहन काम पनि गर्नेहरू भएकोले हाल सञ्चालन हुँदै आएको समय कक्षामा उपस्थित हुन नसकिरहेको विद्यार्थी संगठनहरुव्दारा आइतबार जारी संयुक्त वक्तव्यमा बताइएको छ ।

रोजगारी सहित पढाई जारी राख्न चाहने अन्य जिल्लाबाट आएको विद्यार्थीहरू समय नमिलेकै कारण महँगो शुल्क तिरेर निजी कलेज तिर जान बाध्य भइरहेको बताइएको छ ।

क्याम्पसमा पढिरहेका ५० प्रतिशत विद्यार्थीहरू समयको व्यवस्थापन हुन नसक्दा परीक्षामा मात्र सामेल हुने गरेको तर्फ पनि संकायको ध्यानाकर्षण गराइएको छ ।

विद्यार्थीका हितका लागि समय परिवर्तन गर्ने माग सम्बोधन गर्न विद्यार्थी सङ्गठनहरूले १५ दिनको अल्टिमेटम दिएका छन् । उक्त समयमा मागको सम्बोधन नभए आइपर्ने क्षतिका जिम्मेवार क्याम्पस प्रशासन हुनुपर्ने चेतावनी पनि सङ्गठनहरूले दिएको छ ।

संयुक्त वक्तव्य स्ववियु सभापति युवराज राई अलौकिक, नेविसंघ सभापति सरोज रेग्मी, सवियु अध्यक्ष सविरसिंह याक्सो, अनेरास्ववियु अध्यक्ष प्रभात तामाङ, अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष विपिन लिम्बु, नेविसंघ सभापति विनोद आले मगर, किरात खम्बुवान विद्यार्थी अध्यक्ष कमानसिंह राई, अनेरास्ववियु अध्यक्ष अजित सोम्यहाङले प्रकाशित गरेका हुन ।

MMC-student-PR-2