विराटनगर : महिला हिंसा बेचबिखनका सत्य घट्नाको आधारमा निर्मित भिडियो चलचित्र 'सचेतना' कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बिहीबार सार्वजनिक गरेका छन् ।

चलचित्र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले निर्माण गरेको हो । प्रदेश प्रहरी कार्यालयको सभा हलमा भएको कार्यक्रममा मन्त्री राईले चलचित्रले बेचबिखनको वास्तविक घटना उजागर गरेको बताए । उनले भने ‘चलचित्र समाजमा सचेतना बढाउन सन्देशमूलक छ ।’

प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले जनचेतनामूलक भिडियो ‘सचेतना’ सबैले सेयर गरी गाउँ घर सम्म पुर्‍याउन सहयोग गर्न सबैलाई आग्रह गरे ।

नायब महानिरिक्षक खापुङले बेचबिखनमा संलग्न अपराधीहरूलाई प्रविधि समेतको प्रयोग गरी कानुनी दायरामा ल्याउन प्रदेश सरकारको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रदेश प्रहरीले भिडियो चलचित्र सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्माण गरेको हो । चलचित्रमा चेलीबेटीलाई प्रलोभनमा पारी विभिन्न मुलुकहरूमा बेचिने गरेको घटना देखाइएको छ ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, गणपति प्रहरी उपरीक्षक भीम बहादुर दाहालको उपस्थिति थियो ।

police-documentory