धरान : पन्ध्र महिना अघि दुवै मृगौला खराब भएकोले प्रत्यारोपण बाहेक विकल्प नभएको चिकित्सकहरूले बताएपछि धरान-१४ विजयपुरका ५३ वर्षीय प्रेमप्रसाद पराजुली छाँगाबाट खसे ।

५ वर्ष अघि श्रीमती विमला पराजुली घरैमा लडेर स्पाइनल कड इञ्जुरी भएर ओछ्यान परेको बेला आइपरेको बज्रपात उनलाई आकाश खसे जस्तो धर्ती भासिए जस्तो भयो । उनले भने 'लेखान्त यती नै रहेछ जस्तो लाग्न थाल्यो ।'

सामाजिक सेवा कार्यमा क्रियाशील रहँदै आएका पराजुलीलाई ओछ्यान परेकी श्रीमतीलाई खाना, औषधि, नित्यकर्म गराउने काम आफैले गर्नुपर्दा सामाजिक जीवनबाट टाढिए । यसै क्रममा उनको दुवै मृगौला खराब हुँदा ठुलो बिजोगमा परेका छन् ।

वीपी प्रतिष्ठानमा हप्ताको दुई पटक डायलिसिस गराउँदै आएका पराजुलीले आज मङ्गलवार पत्रकार सम्मेलन आयोजना गरी मृगौला प्रत्यारोपण गर्न नेपालको विद्यमान कानुनले आफू जस्ता धेरै पीडितहरू अकालमा मर्नु पर्ने स्थिति रहेको सुनाउँदै कानुनमा तत्काल संशोधन गर्न माग गरे ।

श्रीमती मृगौला दान गर्न तयार भए पनि ओछ्यान परेकी बिरामीको मृगौला लिन स्वास्थ्य, कानुनी, नैतिक दृष्टिले सम्भव भएन । छोराले मृगौला दान गर्न चाहेकोमा चिकित्सकीय जाँचले नमिल्ने देखियो । पछिल्लो पटक छिमेकका धर्मपुत्रका रूपमा रहेका सन्तानले उनको अवस्था देखेर स्वतःस्फूर्त रूपमा मृगौला दान गर्न तयार भएर बसेका छन् ।

कमजोर आर्थिक स्थिति, श्रीमतीको अवस्था, धरानका अगुवाहरूले ‘तपाई जस्तो समाजसेवी बाँच्नु पर्छ’ भनी सहयोग समिति समेत गठन गरेपछि उनी प्रत्यारोपणको प्रक्रिया सुरु गर्ने तयारीमा छन् । तर परिवारका सदस्य बाहेकका व्यक्तिले कानुनी रूपमा मृगौला दिन नमिल्ने रहेछ । पत्रकार सम्मेलनमा पराजुलीले भने ‘प्रत्यारोपणमा देखिएको नेपालको कानुनी अवरोधले व्यक्तिको बाँच्न पाउने अधिकार हनन भएको छ ।’

आफू जस्तै सयौँ अरू बिरामीका लागि समेत कानुनी जटिलहरूले प्रत्यारोपणमा अवरोध गर्ने अनुभव गरेकोले पत्रकारहरू मार्फत सबैको हितका लागि राज्यलाई कानुनमा तत्काल संशोधन गर्न माग गरेको पराजुलीले बताए ।

सङ्घीय सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सरोकारवालाहरूलाई प्रेषित निवेदन पीडित पराजुलीले पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै भने ‘ठुलो रकमको माग सहित मलाई मृगौला दिन मानिस थुप्रै मेरामा आए, भारतमा गएर ट्रान्सप्लान्ट गर्नुपर्ने रहेछ ।’ आर्थिक अवस्था कमजोर भएकोले त्यसो गर्न आफूले नसकेको उनले बताए ।

उनले भने ‘नेपालमा मृगौला स्वोच्छाले दान गर्ने मानिस भए पनि कानुनी कठिनाइका कारण मृगौला पीडितहरूले देशभित्रै प्रत्यारोपण गर्न नपाउने अवस्था रहेछ ।’ तर ठुलो रकम खर्च गराई बाहिर गएर नेपालीकै मृगौलाको प्रत्यारोपण भने भइरहेका छन् । पराजुलीले भने ‘त्यसै कारण कानुनमा संशोधन भए पैसा खर्च गर्न नसक्नेहरूले पनि नेपालमै प्रत्यारोपण गर्न सकुन् भन्ने मेरो माग हो ।’

पराजुलीले प्रधानमन्त्री, गृहमन्त्रीलाई प्रेषित गरेको पत्रमा भनिएको छ ‘अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी घोषणापत्रमा नागरिकको बाँच्न पाउने हक र अधिकारलाई सम्बोधन गरेको छ ।’ नेपालको संविधानले पनि मौलिक हकको रूपमा यसलाई स्वीकार गरेको छ ।

ज्ञापन-पत्रमा भनिएको छ ‘यद्यपि विद्यमान कानुन, सो अनुरूप नबन्दा म र म जस्ता हजारौँ नागरिकहरू आज पलपल गरेर मरेर बाँचिरहनु परेको छ ।’ प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य मन्त्री र सम्पूर्ण मानव अधिकारवादीहरूलाई सम्बोधन गर्दै भनिएको छ ‘परिवारका सदस्यहरूद्वारा मृगौला दान गर्न सम्भव नभएको खण्डमा स्वैच्छिक रूपमा यदि कसैले दान गर्न चाहन्छ भने त्यसलाई कानुनले स्वीकार गर्ने व्यवस्था बनाउन वातावरण तयार गरौँ ।’