झापा : दमकमा बालबालिकाको समस्या पहिचानका साथै राजनीतिक रूपमा सचेत बनाउन उप-प्रमुखसँग बालबालिका कार्यक्रमको थालनी गरिएको छ ।

बालबालिकालाई सामाजिक र राजनीतिक रूपमा सचेत बनाउन दमक नगरपालिकाको आयोजनामा उप-प्रमुखसँग बालबालिका कार्यक्रम सुरु गरिएको नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईँले बताइन ।

दमक-६ स्थित सूर्योदय अङ्ग्रेजी माध्यमिक विद्यालयबाट उप-प्रमुखसँग बालबालिका कार्यक्रमको सुरुवात गरिएको छ ।

बालबालिकाहरूले दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईँ समक्ष बालबालिका समस्यासहित सामाजिक सरोकारका विषयमा जिज्ञासा राखेका थिए ।

त्यस्तै विद्यार्थीहरूले नगरपालिकाले बाल अधिकारका लागि नगरले ल्याएका कार्यक्रम, दमकका सडकको दुरावस्था, शनिवारका दिन बिद्युत् कटौती अनियमित भइरहेको लगायतका विषयमा उपप्रमुखसँग जिज्ञासा राखेका थिए ।

उनीहरूको जिज्ञासालाई नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईँले सम्बोधन गरेकी थिइन । यो कार्यक्रम सामुदायिक विद्यालयमा पनि सञ्चालन गरिने उनले बताइन ।