झापा : पछिल्लो समय सदनदेखि सडकसम्म चर्चा पाएको गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरण बारे टी इस्टेट प्रालिका सञ्चालकले मुख खोलेका छन् ।

झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी इस्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टी इस्टेट राज्यको सम्पत्ति नभएको बताएका छन् । संसदले नै ऐन पारित गरेर गिरीबन्धुको जग्गा साटफेर गर्न भनेको उनको दाबी छ ।

बुधवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टी इस्टेट राज्यको सम्पत्ति नभएको बताएका हुन् ।

पत्रकारहरूसामु गिरीबन्धु टी इस्टेट आफ्ना बाबु-बाजेले आर्जेको सम्पत्ति भएको र त्यो सम्पत्ति राज्यको नभएको उनले दाबी समेत गरे । उनले आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको आरोप समेत लगाएका छन् ।

२०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुन अघिनै गिरीबन्धुले चिया खेती विस्तार गरेको गिरीको भनाइ थियो । हदबन्दी छुटमा ५ सय बिघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० बिघा जग्गा रहेको उनले बताए ।

सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको उनको भनाइ छ । एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार सुरु गरेको गिरीले स्वीकार गरेका छन् । दीपक मलहोत्रा, विष्णुबहादुर राई लगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको उनले प्रस्ट पारे ।