धरान : अहिले आरु बखडाको सिजन हो । पहाडी चिसो भेगमा फल्ने आरु बखडा अहिले बजारमा ६० रुपैयाँ किलो सम्म पाइन्छ । देख्दा खाऊँ खाऊँ लाग्ने, राम्रो देखिने आरु बखडाको स्वाद पनि उत्तिकै मिठो हुन्छ । भिटामिन ए, सी, के, बी ६ आदीका साथै यसमा निकै धेरै फाइबर पनि पाइन्छ । यसमा एण्टीअक्सिडेन्ट पनि धेरै पाइन्छ ।

यसको जुस बनाएर पनि खान सकिन्छ । एउटा मध्यम आकारको आरु बखडामा करिब १ दशमलव ३ ग्राम पोटासियम पाइन्छ । यसमा पर्याप्त मात्रामा आइरन पनि पाइने भएकाले आरु बखडाको नियमित सेवनले शरीरमा रगतको कमी पनि पुरा गर्न मद्दत गर्छ । साथै यसको प्रयोगले उच्च रक्तचाप हुने सम्भावनालाई पनि कम गर्छ ।

आरु बखडाका १० फाईदा

छालालाई स्वस्थ र चमकदार बनाउन : आरु बखडामा एण्टीअक्सिडेन्टको उपस्थितिका कारण यसको नियमित प्रयोगले छालालाई चमकदार बनाउन मद्दत गर्छ भने यसले सम्झने क्षमतालाई वृद्धि गर्न समेत फाइदा गर्छ ।

रोग प्रतिरोधी क्षमताको वृद्धि : आरु बखडामा भिटामिन सी निकै धेरै मात्रामा पाइन्छ । यसकारण शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन आरु बखडा निकै फाइदाजनक हुन्छ । जुन व्यक्तिहरूलाई चिसोको समस्या छ उनीहरूले नियमित रूपमा आरु बखडा खानु राम्रो मानिन्छ ।

कोलेस्ट्रोल घटाउन : आरु बखडामा धेरै मात्रामा फाइबर पाइन्छ । यसकारण कोलेस्ट्रोललाई नियन्त्रण गर्नका लागि आरु बखडाले मद्दत गर्छ । यसले कलेजोसँग जोडिएका स्वास्थ्य समस्यालाई पनि कम गर्न मद्दत गर्छ ।

पाचन प्रणाली : आरु बखडामा हुने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

आँखाका लागि : आरु बखडामा पर्याप्त मात्रामा भिटामिन ए पाइन्छ । यसकारण यसको प्रयोगले आँखाको समस्या कम गर्न मद्दत गर्छ ।

क्यान्सरको रोकथामका लागि : आलु बखडामा पाइने बिटा कारटोनेसले क्यान्सरको कोशिकालाई एक्टिभ हुन दिँदैन ।

मुटुको रोगमा : आरु बखडामा पाइने भिटामिन के र पोटासियमले मुटुसँग जोडिएको समस्यालाई कम गर्न मद्दत गर्छ ।

मोटोपन घटाउन : जो मानिस आफ्नो तौल घटाउन चाहिरहेका हुन्छन्, उनीहरूले आरु बखडा खानु राम्रो मानिन्छ । यसको सेवनले बारम्बार भोक पनि लाग्दैन र तौल पनि नियन्त्रण गर्न मद्दत गर्छ ।

मधुमेहमा : यसले शरीरमा रहेको मधुमेहको मात्रालाई नियन्त्रण गर्छ । आरु बखडालाई मधुमेहका रोगीलाई निकै उपयुक्त मानिन्छ ।

शरीरमा ऊर्जाका लागि : आरु बखडाको प्रयोगले शरीरको मिनिरल शोषण गर्ने क्षमतामा वृद्धि गर्छ र यसले शरीरमा ऊर्जा दिनुका साथै फ्रेस राख्न मद्दत गर्छ ।