विराटनगर : विराटनगर महानगरका १९ वटै वडामा चालु आर्थिक वर्षमा १ अर्ब १५ करोडभन्दा बढीका परियोजना निर्माणाधीन अवस्थामा छन् । २ वर्षमा विराटनगरको आन्तरिक सडक ६२ किलोमिटर विस्तार भएको छ ।  । त्यसमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ ग्राभेल सडक छन् । महानगरपालिकाले यस अवधिमा १५२ वटा कल्भर्ट निर्माण गरेको छ ।

उक्त जानकारी मङ्गलवार आयोजित सार्वजनिक सुनवाइमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दिएका हुन । पूर्वाधार निर्माणका कार्य सहित महानगरवासीको सुरक्षा, स्वास्थ्य सेवा, महिला, बालबालिका, दलित लगायत लक्ष्यीत समुदाय लक्षित सामाजिक सशक्तीकरण कार्यक्रम जारी रहेको उनले जानकारी दिए ।

१०० बढी घरमा नगर प्रहरीले सर्प समातेर व्यवस्थापन, नाला, ढल र पैनी सरसफाइ, बरगाछी-रानी सडक सौन्दर्यीकरण, दक्षिणमा रानी प्राथमिक स्वास्थ्य केन्द्र र उत्तरीमा बैजनाथपुर हेल्थ पोष्टलाई अस्पतालमा स्तरोन्नति गरेको उनले उल्लेख गरे । रानी अस्पतालमा फिजियो थेरापी, भिडियो एक्स-रेलगायतका सुविधा थपिएको बताए ।

१९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविरबाट ५०२२ जनाको स्वास्थ्योपचार गरिएको, विराटनगर मोतिया बिन्दुमुक्त बनाउन ६ वटा वडाको स्वास्थ्य केन्द्रमा आँखा जाँच क्लिनिक तोकिएको, ८० वर्ष माथिका लाई घरमै निःशुल्क औषधोपचार सेवा,  निःशुल्क एम्बुलेन्स सेवा चलिरहेको मेयर कोइरालाले उल्लेख गरे ।

शिक्षाको गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालय प्रअहरूसँग कार्य सम्पादन करार सम्झौता गरिएको छ । सबै सामुदायिक विद्यालयमा पङ्खा जडान जारी छ ।

महानगरपालिकाको बेरुजु घटाउने लक्ष्य अनुसार कुल २३ करोड ८३ लाखको सम्परीक्षण गरिँदा कुल अङ्कको १ दशमलव ०३ प्रतिशत मात्रै बेरुजु आएको मेयर कोइरालाले जानकारी दिए । उनले भने ‘बेरुजु कम निस्कने पालिकामध्ये विराटनगर मोरङको पहिलो पालिका भएको छ ।’

वडा अध्यक्षहरूको उपस्थितिमा भएको सुनवाइमा सहभागी महानगरवासी अगुवाहरूले विराटनगरको  भौतिक पूर्वाधारे विकास। शिक्षा, स्वास्थ्य र सुशासनका कार्यहरू सन्तोषजनक देखिएको प्रतिक्रिया जनाए । नागरिक समूहका अगुवा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यमा महानगरवासीले महसुस गर्ने गरी कार्य भइरहेको बताए ।

उनले महानगरपालिकाले उपभोक्तामैत्री नीति तथा कार्यक्रम ल्याउन बजार अनुगमनलाई तीव्रता दिनु पर्नेमा जोड दिए ।

पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले बेरुजु घटाउनु उल्लेखनीय भएको बताउँदै यसबाट सुशासनमा सफल भइरहेको सङ्केत मिलेको बताउँदै हरियाली बनाउने योजना ल्याउन ध्यानाकर्षण गराए ।

अभियन्ता उद्धव केसीले फुटपाथ नियन्त्रण गर्नुपर्ने, सडकमा निर्माण सामग्री राख्न रोक लगाउनुपर्ने सुझाव दिए । काँग्रेस वडा ६ का सभापति राम ढकालले सडकको पार्किङ निषेधको निर्णयबाट महानगर किन पछि हट्नु प¥यो भनेर प्रश्न गरे ।

उनले केशलिया खोलाले माटो कटान गरिरहेको, केशलियामा फोहोर थुपार्न रोक लगाउन आग्रह गरे ।  युवा नेता उद्धव कोइरालाले कोशी अस्पताल र उद्योगहरूको अनुगमन गरी बिरामी र मजदुरको अवस्था बुझ्न सुझाव दिए ।

समाजसेवी सुगल भट्टराईले परोपकार घाटमा सोलार लाइट जडान गर्न र गुद्रीमा विषादी परीक्षण मेसिन राख्न सुझाव दिए । भरतप्रसाद खरेलले विराटनगर-४ को खार्जी पश्चिम क्षेत्रमा डुबान नियन्त्रण गर्न माग गरे ।

एमालेका युवा नेता नवराज काफ्लेले मासु व्यवसायीले खसी र कुखुरा काटेर त्यसको फोहोर नालीमा फ्याल्न नियन्त्रण गर्न, सडकमा जेब्राक्रस बनाउन, शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने सुझाव दिए । राजुचन्द्र दाहालले कार्यालय र विद्यालयमा काम र पढाइ सुरु हुनुअघि १० मिनेट ध्यान गरिनु पर्ने सुझाव दिए ।

युवा अभियन्ता प्रितम साहले युवा लक्षित कार्यक्रम र बजेट ल्याउन, अञ्जु रिजालले बालबालिका केन्द्रित कार्यक्रमहरू ल्याउन, राधेश्याम घिमिरेले जामुनगाछी-केशलिया सडक छिटो निर्माण गर्न माग गरे ।

उपमेयर शिल्पा निराला कार्कीले विद्यालय, सहकारी र विकास निर्माणको नियमित अनुगमन भइरहेको जानकारी दिइन् । उनले भनिन् ‘न्यायिक समितिले छिटोछरितो न्याय सम्पादन गरिरहेको छ ।’ प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सीमित बजेट हुँदा पनि महानगरले धेरै कार्य गरेको बताए ।