वराहक्षेत्र  : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको वराहक्षेत्र नगरपालिकामा दुई वटा कमिटी गठन भएका छन् ।

गएको २०७९ सालको स्थानिय तहको निर्वाचनबाट दुई समूहमा विभाजित भएको नेकपा माओवादीको वराहक्षेत्रमा संस्थागत रूपमा नै दुई चिरा परेको हो । एउटा समितिको अध्यक्ष कमल बहादुर कटुवाल (मिलन) छन् भने अर्को समितिको अध्यक्ष सङ्गीता किराँती रहेकी छिन् ।

कटुवाल २०७४ सालको स्थानिय रहको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेका थिए भने किराँती उपमेयरको उम्मेदवार थिइन् । 

कटुवाल अध्यक्ष रहेको समितिको उपाध्यक्षमा तुलसी पाण्डे, दिलु गजमेर र भोगोन्द्र डाँगी, सचिवमा रामप्रकाश कोइराला छन् । सह-सचिव अञ्जली आचार्य,  कोषाध्यक्ष दुर्गा बहादुर राई रहेका छन् । उपाध्यक्ष डाँगी वडा नं.६ का निर्वाचित वडा सदस्य हुन् ।

त्यस्तै किराँती अध्यक्ष रहेको समितिको उपाध्यक्षमा तुलसा भट्टराई, लंकमान विश्वकर्मा र अमित गौतम रहेका छन् । सचिवमा प्रदिव बस्नेत, सह-सचिवमा रमिला घिमिरे, कोषाध्यक्षमा गोबिन्द्र राई रहेको ६० सदस्य समिति आज सम्पन्न भएको नगर कमिटीको विस्तारित बैठकले जिम्मेवारी तोक्दै चयन गरेको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा वराहक्षेत्र इन्चार्ज पुष्प ढुङ्गानाले बताए ।

उपाध्यक्षमा चयन भएका गौतम गएको स्थानिय तहको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनमा माओवादीको तर्फबाट उपमेयरको उम्मेदवार बनेका थिए । भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं.५ को अध्यक्षमा उम्मेदवार रहेका थिए ।

यस अगाडि माओवादी केन्द्रको जिल्ला संयोजक योगेन्द्र मण्डल पप्पुले कमल कटुवाल नेतृत्वको समितिलाई प्रमाण पत्र दिँदै समिति गठन गरेका थिए । गएको स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन प्रति असन्तुष्टि व्यक्त गर्दै कमल कटुवाल नेतृत्वको समूहले मेयर र वडा नं.१ मा स्वतन्त्र उम्मेदवार उठाएको थियो थियो भने किराँती नेतृत्वको समूह गठबन्धनमा सहभागी हुँदै निर्वाचनमा सहभागी भएको थियो । हाल माओवादीबाट २ जना कार्यपालिका सदस्य सहित ७ जना निर्वाचित जनप्रतिनिधि रहेका छन् ।