धरान : सुनसरी जिल्ला एन्फा 'बि डिभिजन' फुटबल नकआउट फाइनल प्रतियोगिताको च्याम्पियन युवा जागृति क्लब बनेको छ ।

धरान-१७ एन्फा टेक्निकल सेन्टरमा आज बिहीबार भएको फाइनल खेलमा जागृति क्लबले १-०  गोलले मित्र मिलन क्लब धरानलाई पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतियोगिता सुनसरी जिल्ला फुटबल सङ्घले सञ्चालन गरेको हो ।

युवा जागृतिले च्याम्पियनको उपाधि सँगै नगद २० हजार पुरस्कार सहित ट्रफी मेडल प्राप्त गरेको छ । उपविजेता मित्र मिलनले १० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल प्राप्त गरेको छ ।

खेलमा युवा जागृतिका प्रमेश राईले गरेको १ गोल निर्णायक बनेको थियो । फाइनल खेलको म्यान अफ दि म्याच प्रमेश नै घोषित भई १ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी युवा जागृतिका अदित राई घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । प्रतियोगिताभर ३ गोल गर्दे हाई स्कोर मित्र मिलनका सरोज राई घोषित भए । उनले नगद ३ हजार प्राप्त गरे ।

बेस्ट गोलकिपर युवा जागृतिका बिनेश चौधरी, बेस्ट डिफेन्डर मित्र मिलनका पेशन मगर, बेस्ट मिडफिल्डर युवा जागृतिका जमिन लिम्बु, बेष्ट स्ट्राइकर मित्र मिलनका मनिश लिम्बु र बेस्ट कोच युवा जागृतिका अशोक लिम्बु घोषित भए । उनीहरूले जनही नगद २/२ हजार प्राप्त गरे ।