इटहरी : बिहीबार दिउँसो इटहरी उपमहानगरपालिका कार्यालय परिसर पाथीभरा सेकेण्डरीका विद्यार्थीले भरिभराउ भयो । मेयर हेमकर्ण पौडेल विद्यार्थीसँग हात मिलाउँदै भलाकुसारीमा रमाए । विद्यार्थीले पनि मेयर पौडेल लगायत अन्य जनप्रतिनिधि तथा कर्मचारी सँग घुलमिल भए । 

पाथीभरा सेकेन्डरीले कक्षा १ को इटहरीको सेरोफेरो पुस्तकलाई व्यवहारिक रूपमा सिकाउने भन्दै उपमहानगरपालिका कार्यालय भ्रमण गराएको हो । पाथीभराले सुरु गरेको ‘बुक लेस फ्राइडे’ कार्यक्रम अन्तरगत विद्यार्थीलाई विभिन्न स्थानको भ्रमण गराउने र व्यवहारिक सिकाइमा जोड दिने गरेको छ । 

हरेक शुक्रवार एउटा वा दुई वटा कक्षाका विद्यार्थीलाई किताब बाहेकको अन्य व्यवहारिक ज्ञान सिकाउने गरेको प्रिन्सिपल डाक्टर गोपाल श्रेष्ठले बताए । मन्टेश्वरी देखिनै व्यवहारिक ज्ञानमा जोड दिएको पाथीभराले बालबालिकाको मनोविज्ञानलाई सकारात्मक प्रभाव पार्ने गतिविधि गरिरहेको बताए । 

सोही क्रममा बिहीबार इटहरीका मेयर लगायत जनप्रतिनिधि सँगको भेटघाट गराइएको उनको भनाइ छ । भ्यालु एजुकेसन अन्तरगत स्किल डेभलपमेन्टको यस्ता गतिविधि प्रभावकारी हुने उनको विश्वास छ ।