धरान : विद्यालयको २ सय गज भित्र मादक पदार्थ बेच्न नपाइने आचार संहिता पालन गर्नु पर्ने व्यवस्था भएपनि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको एकल निर्णयले स्कुलकै सिमानासँग गाँसेर धरान-१६ मा गुरुङ विविक्यु पार्टी प्यालेस सञ्चालन गर्ने अनुमति पाएको छ ।

मेयर साम्पाङको तोकादेशमा धरान-१६ स्थित पञ्चायत आधारभूत विद्यालयको छेउमै गुरुङ पार्टी प्यालेसलाई नयाँ संरचना थप गरी सञ्चालन गर्न अनुमति पाएको हो । २०८० चैत्र ५ गते पार्टी प्यालेस सञ्चालनको स्वकृति पाएसँगै थप निर्माण कार्यलाई तीव्र गतिमा भइरहेको छ ।

स्वास्थ्य शिक्षा सूचना, सञ्चार केन्द्रद्वारा गत वैशाख २३ गते मदिरा नियन्त्रण तथा नियमन कार्यशाला गोष्ठीमा मदिरा नियन्त्रण तथा नियमन सम्बन्धी मदिराका प्रचार प्रसार गरिएको होर्डिङ बोर्ड हटाउने र  विद्यालयका २ सय गजभित्र मदिराजन्य पदार्थ बिक्री गर्न बन्द गराउने नियम तथा आचार संहितामा धरान उपमहानगरपालिकाले हस्ताक्षर गरेको छ ।

सहमति पत्रमा उपमहानगरपालिका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् । मेयर सम्पाङले विद्यालयसँगै पार्टी प्यालेस निर्माण गर्न दिएर उक्त सहमति उल्लङ्घन गरेका छन् ।

मेयर साम्पाङले आफ्नै अध्यक्षतामा उपमहानगरपालिकाको २०८० पुष २९ गते आइतबार बसेको कार्यपालिकाको बैठकबाट शैक्षिक संस्था र सार्वजनिक स्थानहरूमा धूम्रपान, मध्यपान तथा सुर्तीजन्य बस्तु बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाउनले निर्णय भएको थियो । उपमहानगरपालिका आफैले गरेको उक्त निर्णय र नियम पनि मेयर साम्पाङ आफैले तोडेका छन् ।

कारबाही गर्छौ : प्रजिअ तिवारी

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द तिवारीले शैक्षिक संस्थाको देख दुई सय गज भित्र मदिरा बिक्री वितरण गर्न नपाउने व्यवस्थाको पालना नभए कारबाही गरिने बताएका छन् । उनले भने, ‘यदि कसैले शैक्षिक संस्थाको छेउमा मदिरा बिक्री वितरण र संरचना निर्माण गरी नियम कानुन विपरीत कार्य गर्दछ भने कारबाही हुन्छ ।’

उनले कहाँ कसले काम गर्दछ नेपाली नागरिकको हिसाबले जिल्ला प्रशासनलाई सूचना दिन आग्रह समेत गरेका छन् । प्रजिअ तिवारीले भने, ‘नियम कार्यान्वयनका लागि पछि हट्दैनौ ।’ नियम कार्यान्वयन गर्न धरान उपमहानगरपालिका जिम्मेवार हुनुपर्ने र स्कुलको सटरमा रक्सी व्यापार छ भने उपमहानगरपालिकाले सोच्नुपर्ने उनले बताए ।

अनुमति पत्र बारे बेखबर : शिक्षा महाशाखा

धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाबाट गुरुङ विविक्यु पार्टी प्यालेस निर्माण र सञ्चालनका लागि अनुमति नदिएको शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले बताए । उनका अनुसार शिक्षा शाखाले दुई सय गज सम्म मदिरा जन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

प्रमुख खतिवडाले भने, 'तर मेयर सापको एकल निर्णयबाट पार्टी प्यालेस सञ्चालन स्वीकृत दिएको भन्ने कुरा सुनेको छु । उनले अनुमति पत्र बारे शिक्षा महाशाखालाई केही नभएको बताए । महाशाखा प्रमुख खतिवडाले भने, ‘अनुमति पत्र बारे बेखबर छु ।’

प्राविधिक पठाएको हो : वडा अध्यक्ष भट्टराई

वडा-१६ का अध्यक्ष मुरारी भट्टराईले गत वैशाख १३ गते पार्टी प्यालेस निर्माणका लागि चार किल्ला प्रमाणित गर्न उपमहानगरपालिकाबाट पत्र आएको बताए ।

उनका अनुसार पत्र अनुरूप वडाले प्राविधिक पठाएको बताए । उनले भने, ‘प्रमाणित र स्वीकृति वडाले गर्ने होइन उपमहानगरपालिकाले प्रमाणित गर्‍यो गरेन त्यो कुरा मलाई थाहा छैन ।’

इजाजत लिएर पार्टी प्यालेस सञ्चालन गरेको दाबी

गुरुङ बीबीक्यूका सञ्चालक धनबहादुर गुरुङले पार्टी प्यालेस निर्माण सुरु गरेसँगै धरान उपमहानगरपालिकाबाट सम्पूर्ण इजाजत लिएको बताए । गुरुङ विवि क्यु पार्टी प्यालेस प्रालीमा दर्ता गरेका छौँ । उनले भने, ‘मेयर सावबाट स्वकृति लिए पश्चात् कम्पाउन्ड निर्माणको कार्य अगाडि बढाएको हौँ ।’

सञ्चालक गुरुङले भने, ‘पार्टी प्यालेस मदिरा बिक्री वितरण गर्ने ठाउँ होइन, भोज भतेर गर्ने ठाउँ मात्र हो यहाँ रात्रीकालीन मात्र व्यापार हुने भएकाले स्कुललाई कुनै असर पर्देन ।’ उनका अनुसार कम्पाउन्ड पनि साउन्ड प्रुफ लगाइएको छ । वालहरू पनि साउन्ड प्रुफ छ । उक्त स्थल १७ वर्षका लागि सुनिल श्रेष्ठसँग लिजका लिएको उनले बताए । पार्टी प्यालेसमा ५ जनाको शेयर लगानी रहेको उनले बताए ।

gurung-BBQ-party-Palace