वराहक्षेत्र : गत चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म ३२ दिन वराहक्षेत्र नगरपालिका वडा नं १ प्राचीन हरिद्वार चतराधाममा आयोजना भएको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको आय व्यय सार्वजनिक  गरिएको छ । मेलाको आयोजना गरेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले उक्त आय-व्यय सार्वजनिक गरेको हो ।

शुक्रवार बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार कुम्भ मेला पहिलो पटक नाफामा देखिएको हो । यस अगाडि लागेको ४ वटा कुम्भ मेलामा मूल आयोजक समिति आर्थिक रूपमा नोक्सानमा रहेको थियो ।

मूल आयोजक समितिकी कोषाध्यक्ष सीता भण्डारी पौडेलले आय/व्यय प्रस्तुत गरेकी थिइन् । कोषाध्यक्ष भण्डारीका अनुसार कुम्भ मेलाको आयोजनाबाट ७९ लाख ५ हजार ८५ सय २ रुपैयाँ ८२ पैसा बचत भएको छ ।

समितिले भक्तजनहरूबाट, रसिदबाट, बजार, यातायात, सहयोग लगायतबाट २ करोड २२ लाख ७० हजार ५ सय ६ रुपैयाँ ४२ पैसा सङ्कलन गरेको थियो । जसमा १ करोड ४३ लाख ६४ हजार ६ सय ५३ रुपैयाँ ६ पैसा खर्च भएको छ ।

३२ दिन सम्म आयोजना भएको कुम्भ मेलामा देश विदेशबाट ७० लाख भन्दा बढी भक्तजनहरूको आगमन भएको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सह-अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।

शुक्रवार कुम्भ परिसरमा आयोजना भएको आय व्यय सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा उनले कुम्म मेला आयोजनाको तयारी, व्यवस्थापन, सञ्चालनकामा सहयोग पुराउने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे । कुम्भ सफल बनाउन प्रदेश र सङ्घीय सरकारले ठुलो सहयोग रहेको कार्कीले बताए ।

उक्त कार्यक्रममा जगदगुरु तथा कुम्भ मेलाका परिकल्पनाकार वालसन्त मोहन शरण देवाआचर्य, प्रदेश सरकारका मुख्य सचिव केदारनाथ शर्मा, प्रदेश मन्त्रालयका सचिव, कोशी प्रदेश सरकारकी पूर्व राज्यमन्त्री इन्दिरा थापा, कोशी प्रदेश सभाका सदस्य ममता तामाङ, विजय राई, रोहित कार्की, रमेश बस्नेत, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकृत रामचन्द्र तिवारी, बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका महासचिव ओमकुमार शर्मा लगायतले कुम्भको चर्चा गरेका थिए ।

बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सह-अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीको सभाध्यक्षयतामा आयोजना भएको कार्यक्रममा उनले सफल पदाधिकारीहरू,वडा अध्यक्ष,  सुरक्षा निकाय, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कुम्भ मेलाका सर्जक जगद गुरु बालसन्त मोहन शरण महाराजलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

Kumbha mela Income-expenses 2