धरान : आप्रवासी नेपाली कविता अलङ्कार विधामा विद्यावारिधि गरेका डा.पूरण राईको प्रकाशित ५ कृतिमा परिचर्चा सँग आज शुक्रवार आयोजित कार्यक्रम बिच धरानका ६ जना स्रष्टा सम्मानित भएका छन् ।

सम्मानित भएकाहरूमा भाषा विज्ञ प्रा.डा.टङ्क प्रसाद न्यौपाने, कवि, साहित्यकार बम देवान, कुन्ता शर्मा, डा. शरण कुमार राई, विमल पुस्तकालयका संस्थापक पूर्णबहादुर गुरुङ र पत्रकार दसरत किराँती छन् ।

सम्मानितहरूलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका थिए । सोही अवसरमा डा.पूरण राईले आमा मौल शोभा राईको स्मृतिमा वर्षमा १ स्रष्टालाई ५० हजार रुपैयाँ राशिको ‘मौलसोभा राई पुरस्कार’ प्रदान गर्ने घोषणा गरेका छन् ।

कार्यक्रम विमल गुरुङ स्मृति पुस्तकालय र अनलाइन अभिलेख प्राली काठमाण्डौको आयोजनामा भएको हो । परिचर्चाको क्रममा डा.राईका प्रकाशित कृति ‘आप्रवासी नेपाली कवितामा अलङ्कार विधा’ माथि प्रा.डा. टङ्क न्यौपानेले चर्चा गरेका थिए ।

राईको कथा सङ्ग्रह ‘अस्तु’ माथि उपप्राध्यापक राजेश विद्रोही, उपन्यास ‘वसन्त ऋतु’ माथि उप प्राध्यापक डाक्टर अस्मिता बिष्ट, निबन्ध सङ्ग्रह ‘कोविड डायरी’ माथि सहप्राध्यापक डा.महानन्द तिम्सिना र ‘लास माथि मानव’ पत्रकार गोपाल देवानले परिचर्चा गरेका थिए ।

राईको मेरो देशको भूगोल, लाहुरे संस्कार कविता, ब्रिटिस गोर्खा सैनिक साहित्यको इतिहास सहित ३ कृति पनि प्रकाशित छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । होटेल पूर्वी स्टारमा भएको कार्यक्रमको संयोजन कवि प्रदीप मेयाङबोले गरेका थिए ।

puran-rai-charcha