धरान : रोटरी क्लब अफ कान्तिपुर काठमाण्डू र रोटरी क्लब अफ लोस अल्टोसद्वारा पाँचथर र सङ्खुवासभाको दुर्गम गाउँ स्थित ४ ठाउँका स्वास्थ्य चौकीलाई १/१ वटा पोर्टबल अल्ट्रासाउण्ड मेशिन प्रदान गरेको छ ।
वीपी प्रतिष्ठान स्थित रोटरी क्लब अफ धरान फुटहिल्स धरानको सहकार्यमा शुक्रवार साँझ धरान-१९ ब्लुम फेमिलि रेष्टुरेन्टमा आयोजित कार्यक्रम बिच अध्यक्ष डा.रिता खड्काबाट उक्त मेशिनहरू सम्बन्धित स्वास्थ्य केन्द्रका प्रमुखहरूलाई हस्तान्तरण गरिएको हो ।
अल्ट्रासाउण्ड उपकरण सङ्खुवासभाको चिचिला गाउँपालिका-३ स्थित दिदिङ स्वास्थ्य चौकी, चैनपुर-४ स्थित सिद्धपोखरी स्वास्थ्य चौकी र पाँचथरको वडा ४ र ६ स्थित स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको छ ।
अल्ट्रासाउण्ड उपकरणहरू पाँचथरको फाल्गुनन्द गापा-४ चिलिङदिन स्वास्थ्य शाखा संयोजक बालकृष्ण दाहाल, वडा ६ आङसाराङ स्वास्थ्य चौकीकी सिनियर अहेब स्वस्तिका नेपाली, सङ्खुवासभाको चिचिला गापा-३ स्थित दिदिङ स्वास्थ्य चौकीकी सिनियर अहेब हरिहर घिमिरे, चैनपुर ४ सिद्धपोखरी हेल्थ पोष्टकी सिनियर स्वास्थ्य निरीक्षक लक्ष्मी वनेम लिम्बुलाई हस्तान्तरण गरिएको छ ।
रोटरी अध्यक्ष डा.रिता खड्काका अनुसार अल्ट्रासाउन्ड मेशिन प्रदान गरिएका स्वास्थ्य केन्द्रहरूमा अधिकतम वर्थिङ सेन्टरका सेवा सञ्चालन हुँदै आएका छन् । ८ वटा स्वास्थ्य केन्द्रहरूले एउटै पोर्टेबल अल्ट्रासाउण्ड मेशिनले काम चलाउँदै आएको पनि पाइएकोले त्यस्ता दुर्गम क्षेत्रलाई प्राथमिकता दिएर उपकरण उपलब्ध गराइएको उनले बताइन् ।
उपकरण प्रदान गरिएका स्वास्थ्य केन्द्रका कार्यकर्तालाई उपकरण सञ्चालन तालिम तथा उपकरणमा समस्या आए मेन्टिनेन्सका लागि रोटरी क्लब अफ धरान फुटहिल्सले सहजीकरण गर्ने समझदारी भएको पनि उनले बताइन् ।
हस्तान्तरणका अवसरमा रोटरी कान्तिपुरका प्रभात योञ्जल, दिलीप अधिकारी साथै रोटरी धरानकी सुलेखा जोशी, डा.मोना दाहाल, नेहा अग्रवाल, डा.रजनी गिरीको उपस्थिति थियो । रेडियोलोजिष्ट ड.निरज रेग्मीले अल्ट्रासाउण्ड मेशिन चलाउँदा अपनाउनु पर्ने बन्देजको बारेमा जानकारी गराए ।
ultrasound-handover-2