• विजय घिमिरे
श्रीमान् नगर प्रमुख ज्यू
परिवर्तन संसारको शाश्वत नियम हो । धरानका मतदाताले परिवर्तनको सोही शाश्वत नियम अवलम्बन गर्दै पछिल्लो उपनिर्वाचन हुँदै स्थानीय तह निर्वाचन २०७९ मा धरानको नेतृत्वको अभिभारा तपाईँलाई सुम्पँदै समग्र धरानको अभिभावकको रूपमा स्थापित गरेको हो । तर आम धराने मतदाताको अपेक्षामा खरो उत्रँदै डेलिभरी दिन सक्ने नेतृत्वको रूपमा स्थापित हुँदै धरानलाई विकास र समृद्धिको बाटोमा अघि बढाउनु पर्नेमा हाल सम्म धरानमा विकास र समृद्धिको नाममा केही नै भएको थिएन र सबै कुरा म आए पछि मात्र भएको हो भन्ने भाष्य तयार गर्दै केही असन्तुष्टहरूको भावनामा खेलेर विकास र समृद्धि भनेको राजनीतिक दल र तिनका नेतृत्वलाई गाली गर्नु हो भन्ने मानक सिर्जना गर्न तपाई नगर प्रमुख स्वयं नै (दलका नेताहरूले नै लडेर ल्याएको व्यवस्थामा निर्वाचित भएर) लाग्नु कत्तिको जायज हुन्छ ?
स्थानीय तह आफैमा अविच्छिन्न उत्तराधिकारीवाला निकाय हो । यस्तो संवैधानिक व्यवस्था भएको नेतृत्व सम्हाल्दा यसको भावना र मर्मलाई नबुझी विगतको नेतृत्वले गरेका कार्यहरूलाई प्राथमिकतामा नराखी प्रतिशोधको भावनामा कार्य गर्दा औद्योगिक ग्राम, वेष्ट टु इनर्जी लगायतका आयोजनाहरू अलपत्र परेर बसेका छन् भने पूर्व जनप्रतिनिधिहरूले डिपिआर तयार गरेका योजनाहरू दराजमा थन्किएर बसेका छन् ।
संविधानमा व्यवस्था भए बमोजिम तिनै तहको सरकार बिच समन्वय, सहकार्य र सह अस्तित्वको आधारमा कार्य गर्नुपर्नेमा तपाईँको कार्य शैलीको कारण स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिसा) को धेरै सूचकाङ्कमा इतिहासमा नै पहिलोपल्ट धरान पछि परेको छ भने केही सुचांकमा त शून्य अङ्क प्राप्त गरेको छ । जसको कारण धरानले पाउने सङ्घीय अनुदानमा समेत व्यापक कटौती भएको छ । समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई लत्त्याउँदै संवैधानिक रूपमा राष्ट्रका प्रमुख र कार्यकारी प्रमुखका रूपमा रहेका राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर आफ्नो कार्यकक्षबाट हटाउने जस्तो अत्यन्त शर्मनाक कार्य गरेर तपाईँले धरानको राजनीतिक उचाइलाई गिराउने कार्य गर्नु भएको छ ।
नगर प्रमुखको रूपमा गर्नु पर्ने कार्य तदारुकताका साथ नगर्दा, प्रदेश र सङ्घबाट आएको बजेट कार्यान्वयनमा उदासीनता देखाउँदा, बजेट ल्याउन पहल गर्ने व्यक्ति समन्वय गर्न नगर प्रमुखको कार्यकक्षमा आउँदा प्रहरी बोलाएर पक्राउ समेत गर्ने कार्य गर्दा धरानमा विगतको तुलनामा सङ्घ र प्रदेशबाट पर्याप्त बजेट आउन सकेको छैन । तपाइ स्वयं फाइल बोकेर सङ्घीय मन्त्री भेट्न जाने अनि बेलुकी गितार बोकेर धम्की पूर्ण भाषामा सामाजिक सञ्जालमा धम्काउँदा बजेट सुनिश्चित हुन्छ ? तपाईँको उपमहानगरको वडाध्यक्षले दिउसो योजना बुझाएर गयो अनि बेलुकी सामाजिक सञ्जालमा हाम्रो वडाको विकास योजना नगर प्रमुखलाई बुझाएको छु, वडावासीहरू हेरौँ हाम्रो वडा नगरप्रमुखको प्राथमिकतामा पर्छ कि पर्दैन भनेर सामाजिक सञ्जालमा खाकखाक खुकखुक थुक गर्‍यो भने सो वडाध्यक्षको फाइल तपाईँको प्राथमिकतामा पर्छ ?
तपाईँले आफू सामाजिक अभियन्ता हुँदा उठाएको प्रमुख खानेपानीको मुद्दामा सतही र कर्मकाण्डी कार्य मात्र भएको छ । यत्रो चर्चा गरेर श्रमदान मार्फत र कोकाह खोलाबाट ल्याएको पानी यो खडेरी दैनिक कति थप भएको छ ? त्यसको आधिकारिक जानकारी कतै आएको छैन । लगानी र श्रमदान अनुसार अहिलेको अभावमा कति प्रतिफल प्राप्त भयो । तपाईँले सामाजिक सञ्जालमा यति पानी थप गरियो भनेर टयाकिमा पानी झरेको भिडियो प्राय: हाल्नु हुन्छ तर धराने जनताको घरमा भने पाँच दिनमा एक पटक मात्रै पानी आइरहेको छ । सामाजिक सञ्जालमा तपाई दिन बिराएर पानी दिएको छु भनेर भन्नु हुन्छ, तर यथार्थमा धेरै ठाउँमा एक सातामा मात्रै धारामा पानी आइरहेको छ ।
एडिबीको परियोजनामा भ्रष्टाचार भएको छ भनेर कर्मचारी र पूर्व जनप्रतिनिधिलाई आरोप लगाएर चरित्र हत्या गर्ने तपाई आफै खानेपानी बोर्डको अध्यक्ष र नगर प्रमुख भएको दुई वर्ष बित्न लाग्दा समेत तपाईँले देखेका ती भ्रष्टाचारीलाई किन कारबाही गर्नु हुन्न र हिजो त भ्रष्टाचारी भनेर तथानाम गाली गरेको कर्मचारी सँग काँध जोडेर कार्य गरिरहनु भएको छ ? खानेपानी बोर्ड नियमित सञ्चालन नगरी तोक आदेशको भरमा हिजो आफैले भ्रष्ट मुकरर गरेको कर्मचारीलाई नै कार्यकारी प्रमुख राखिरहनु, सामन्य विभागीय कारबाही समेत गर्न नसक्नु, नयाँ कार्यकारी प्रमुख नियुक्ति गर्न नसक्नुको अन्तर्वस्तु के रहेको छ ?
हिजो एडिबीको परियोजना कार्यान्वयनको क्रममा संस्थान सँग मिलेर आयोजना असफल बनाउन लाग्ने तपाई, त्यस समय एडिबीको पाइप तिन फिट गाड्नु पर्छ भन्दै नाप्दै हिँड्नु हुन्थ्यो तर आफैले आफ्नै महत्त्वाकाङ्क्षी कोकाहको आयोजनामा सामन्य पाइप पुर्नु समेत भएको छैन जसको कारण डढेलो लाग्ने समयमा डढेलो लाग्दा पाइपमा क्षति पुगेको छ । तर नेपाल भरि डढेलो लागिरहेको छ, धरान उपमहानगरपालिका आफैले डढेलो लाग्ने समयमा सचेत रहन सार्वजनिक सूचना जारी विगत देखि नै गर्दै आएको छ ।
तर अभिभावकको रूपमा रहेको नगर प्रमुखले फरक मत राख्नेलाई विरोधी देख्नु अनि सामाजिक सञ्जालमार्फत तथानाम गाली गर्दै मेरा विरोधीले पाइप जलाए भनेर समाजमा असहिष्णुता बढाउने कार्य गर्दै आउनु भएको छ । समर्थन गर्दा प्रशंसा गर्ने र विपक्षमा हुँदा गाली गर्नुले फरक मत राख्ने, विमति जनाउने लोकतन्त्रको संस्कार माथि नगर प्रमुखको सेवा सुविधामा बसेर तपाईँले निर्मम प्रहार गरिरहनु भएको छ ।
धराने जनताले आफ्नो मताधिकार मार्फत परिवर्तन खोज्दै धरानलाई अग्रगामी बाटोमा अघि बढाउन खोजेका हुन तर तपाई परिवर्तनको नाममा समाजमा मेरो स्वभाव नै रुखो छ भन्दै असभ्यता फैलाउँदै परिवर्तनलाई अवरोध गरिरहनु भएको छ । वन जङ्गलमा सुख्खा समयमा लाग्ने डढेलो निभाउन सरकारी संयन्त्र प्रयोग गर्न भन्दा आफ्ना केही समर्थक लिएर विपत्तको समयमा समेत सामाजिक सञ्जाल मार्फत जनताको भावनामा खेलेर सस्तो लोकप्रियताको पछाडि दौडी रहनु भएको छ ।
हिजो सामाजिक अभियन्ता हुँदा एडिबीको आयोजनाको विरुद्ध खानेपानी संस्थान सँग मिलेर सो आयोजना असफल बनाउन लाग्नु भयो । एडिबीको मुहान क्षेत्र संरक्षण, इन्टेक मर्मत, संस्थानको वेल सुधार लगायतको कार्य गर्न अवरोध पुर्‍याउने तपाई नै होइन । मुहान क्षेत्रमा इन्टेक सुधार कार्यको पाइप काटेर अवरोध गर्दा मुद्दा समेत व्यर्होनु भएको होइन । हिजो परामर्शदातालाई सहजताका साथ कार्य गर्न नदिँदा आज उसले भने बमोजिम पानी उत्पादन नहुँदा समेत आज उसलाई कानुनी रूपमा कठघरामा उभ्याउन सक्ने अवस्था छैन । सो अवस्था सिर्जना गराउने मूल कारण तपाई अभियन्ता हुँदा तपाईँले गरेको गतिविधि होइन ?
किनकि सो योजनामा साइड किलिरियन्स गर्ने जिम्मेवारी उपमहानगरपालिकाको थियो । तर तपाई र तपाईँको समूहको गतिविधिको कारण सो परियोजनाले सहजतापूर्वक काम गर्न पायो ? आज हिजो तपाई र तपाईँको समूह जस्तो कोही तपाईँको विरोध गर्न र नगरपालिकाको प्रवेशद्वार हल्लाउन गएको छैन तर पनि तपाई विरोधीले काम गर्न दिएन भन्नु हुन्छ । तपाईँले धराने जनताको समस्या र भावनामा खेलेर आफ्नो राजनीतिक स्वार्थ पुरा गर्दै आफू राजनीतिक रूपले स्थापित हुन लागिरहनु भएको छ ।
इलामको उपनिर्वाचनमा रवि लामिछानेलाई गृहमन्त्री भएर किन चुनावी प्रचार प्रसारमा भन्ने तपाई निर्वाचन कानुनको धज्जी उडाउँदै आफै आफ्नो राजनीतिक महत्त्वाकाङ्क्षा मार्ग चौडा गर्न निर्वाचन प्रचार प्रसारको लागि पटक पटक इलाम दगुरिरहनु भएको थियो । एउटा उपमहानगरपालिकाको प्रमुखले अर्को निर्वाचन क्षेत्रमा गएर निर्वाचनमा उम्मेदवारको मत माग्नु कत्तिको जायज हुन्छ ? हिजो तपाईँले आरोप लगाएको राजनीतिक दलको नेतृत्व र तपाईँमा के फरक भयो ? आखिर जनताको लागि जुन जोगी आए पनि कानै चिरेको जस्तै न हुँदो रहेछ ।
यसरी विधि, पद्धति र प्रक्रिया सबै बिर्सेर एक व्यक्तिमा निहित अराजक व्यवस्था लाद्न नगर प्रमुख तपाई स्वयं लाग्नुले धरानमा प्रमुख प्रशासकीय अधिकृत समेत आउन छोडेका छन् । वडाध्यक्ष, उपप्रमुख र नगर प्रमुखको एक अर्कामा आरोप प्रत्यारोप गरेर दिनहुँ जसो हुने पत्रकार सम्मेलनले धरानको मर्यादा र गरिमा कति बढाएको छ एक पटक मनन गर्नुस् त ?
मेरो स्वभाव नै रुखो छ भनेर नगर प्रमुख पदको मर्यादा र गरिमा भुलेर अमर्यादित गतिविधि गर्दा तपाईँलाई मात्रै असर पर्ने भए केही थिएन तर तपाइको कारण समग्र धरानलाई नै असर पर्ने हुँदा धरानको एक जिम्मेवार नागरिकको तर्फबाट यो खुल्लापत्र मार्फत ध्यानाकर्षण गराउँदै यथाशीघ्र अराजक र अमर्यादित क्रियाकलाप रोकेर नगर प्रमुख पदको गरिमा र मर्यादालाई बुझेर विधि पद्धति र पक्रिया अनुसार धरान उपमहानगरपालिका र खानेपानी बोर्डको कार्य अघि बढाउनु हुन आग्रह गर्दछु ।
जय धरान !