झापा : झापामा पहिलो पटक वान प्लस यातायात प्रालिले ज्येष्ठ नागरिक तथा अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ ।

कन्काईस्थित कोटी होममा एक कार्यक्रमका बिच उद्घाटन गरिएको बसमा भिआइपी सिटसहित स्लिपिङ बेडको पनि व्यवस्था छ ।

विगत २ वर्षबाट सञ्चालनमा आएको वान प्लस यातायात प्रालिले धरान-काठमाडौँ रुटमा सेवा दिँदै आएको थियो । त्यस पश्चात् यात्रुको माग र राम्रो प्रतिक्रिया पाएपछि पहिलो पटक झापाबाट सेवा सञ्चालन गर्ने जमर्को गरेको सञ्चालक विनोद कोइरालाले बताए ।

उनले बिरामी, वृद्ध वृद्धा र अपाङ्गता भएकाहरूले मात्रै स्लिपिङ बेडसहितको क्याबिन बुक गर्न सक्ने बताए । करिब २ करोड रुपैयाँ लगानी रहको बसमा एयर सस्पेन्सन, जिपिएस लोकेटरसहित सिसी टिभीको व्यवस्थाले यात्रुहरूको यात्रा सुरक्षित रहने अर्का सञ्चालक रिवश काफ्लेको भनाई छ ।

उनले यातायात अपाङ्गमैत्री भएन भन्ने जनगुनासो बढिरहेको परिप्रेक्ष्यमा केही यात्रुको समस्यालाई सम्बोधन गरिएको बताए । उनले काँकडभिट्टा काठमाण्डौको भाडा २ हजार २ सय राखिएको जानकारी दिए ।