काठमाडौँ: व्यक्ति हत्याको आरोप लागेका अग्नि सापकोटालाई सभामुख बनाउने प्रक्रिया रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

रिटको सुनुवाई गर्दै आज न्यायाधिश सपना मल्ला प्रधानले सापकोटा सभामुखमा चुनिएर सपथ ग्रहण पनि गरिसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन भन्ने आदेश दिएको हो । सापकोटालाई सभामुख बन्ने प्रक्रिया रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । उनले दायर गरेको रिट सोमबार हेर्दा हेर्दै सुचीमा राखिएको थियो भने आज मंगलबार पक्ष र विपक्षमा बहस पछि न्यायाधिश मल्लको इजलाशले यस्तो आदेश गरेको हो ।

मुद्दा दर्ता भएपनि सापकोटा आइतबार नै सभामुखमा निवार्चित भएका थिए भने सपथ पनि लिइसकेका छन् । मल्लको इजलाशले जिल्ला प्रहरी कार्यालय काभ्रेमा दरखास्त दर्ता भइ अनुसन्धान चलिरहे पनि अभियोग प्रमाणित भइसकेको नदेखिएकोले अन्तरिम आदेशको औचीत्य नरहेको आदेशमा उल्लेख छ । यद्यपी, यसअघि सर्वोच्चको आदेश कार्यान्वयनको स्थिति र उनीविरुद्ध परेको उजुरीको अवस्थाबारे पनि ३० दिनभित्र पेश गर्न गृह मन्त्रालय र जिल्ला प्रहरी काभ्रेका नाममा पनि सर्वोच्चले आदेश जारी गरेको छ। सभामुख सापकोटालाई द्धन्दकालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ ।