वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा लागूऔषध दुर्व्यसन, साइबर क्राइमको विरुद्धको सचेतना तथा बालबालिका मनोविमर्श अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ।

स्थानिय सामाजिक संस्था नयाँ पिँढीको आयोजनामा सुरु कार्यक्रम नगरपालिका भित्रका माध्यमिक विद्यालयहरूमा आयोजना हुनेछ । कक्षा-९ देखि माथिका विद्यार्थीहरू सहभागी हुने उक्त कार्यक्रमको आइतबार चक्रघट्टी स्थित महेन्द्र माध्यमिक विद्यालयबाट शुभारम्भ गरिएको छ ।

नगर प्रमुख रमेश कार्कीको प्रमुख अतिथ्यतामा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरिएको थियो । नयाँ पिँढीका अध्यक्ष अर्जुन दोङ्ग तामाङ (शिशिर) को सभाध्यक्षयतामा उद्घाटन भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडा नं ८ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक रोशन खड्का, सामाजिक विकास समितिका कार्यक्रम संयोजक अरुण मेहता, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक चण्डिराज पोखरेल, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकास राई विशिष्ट अतिथि रहेका थिए । लायन्स क्लब अफ डाइनमिकका अध्यक्ष विक्रम कर्ण, नेविसंघ सप्तकोसीका इकाई सभापति विज्ञान लिम्बू अतिथि रहेका थिए ।

वराहक्षेत्र नगरपालिकाको कार्यालयको सहयोग र इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीको सहजिकरणमा हुने उक्त कार्यक्रम नगर भित्र रहेका १५ बटा सामुदायिक विद्यालयमा पुगेर कक्षा-९ देखि माथिका विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसन , साइबर क्राइमको विरुद्धको सचेतना तथा बालबालिका मनोविमर्श अभिमुखीकरण गरिने कार्यक्रम संयोजक तथा आयोजक नयाँ पिँढीकी उपाध्यक्ष सीता बस्नेतले जानकारी दिइन् ।

लागूऔषध दुर्व्यसन, साइबर क्राइम तथा बालबालिका मनोविमर्श अभिमुखीकरण कार्यक्रमको सहजिकरण इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकास राईले गर्नेछन् ।