धरान : धरान-११ स्थित सामुदायिक विद्यालय ज्ञानोदय माविका शिक्षक गोपाल गुरागाईँले छात्राहरूलाई यौन दुर्व्यवहार गर्दै आएको आरोप लागेको छ । उनले छात्राहरूलाई हात सुम्सुमाउने, ढाडमा तथा शरीरमा छाम्ने जस्ता क्रियाकलाप गर्ने गरेको विद्यार्थीहरूले बताएका छन् ।

कक्षा १० (ख) की छात्रा स्मिता (नाम परिवर्तित) ले भनिन ‘सरले मेरो ढाडमा सुम्सुम्याउदै ब्रा चलाउने गर्नुहुन्थ्यो ।’ उनले कक्षा ८ मा पढ्दा देखि नै शिक्षक गुरागाईँले ब्रा चलाउँदै शरीर सुम्सुम्याउने गरेको बताइन् ।

गुरागाईँले केटाहले होमवर्क गरेन भने डयाम की डयाम क्लास थर्किने कुट्ने गरेको तर केटीहरूले होमवर्क नगर्दा हात सुम्सुम्याउने, शरीर चलाउने गरेको उनले बताइन् ।

उनले भनिन् 'मेरो साथी पुकोर्टी (नाम परिवर्तन) एक्लै बस्छीन, उनीलाई सरले म्यासेज गरेर फिल्म हेर्न, बाइकमा घुम्न जाऊँ भन्ने, तिमीलाई घुम्न जान मन छैन ? भन्ने, काँही जानु छ भने भन म पुर्‍याइदिन्छु भन्ने अश्लील भिडियो पठाउने जस्ता कार्य गरेको कुरा साथीले भन्ने गरेको बताइन ।’

अर्की कक्षा १० मा अध्ययनरत छात्राका अनुसार ‘उहाँको नाम नै सबै विद्यार्थीहरूले 'बोका' राखिदिएका छन् । शिक्षक गुरागाईँले फेसबुकमा आएको अश्लील भिडियो तेरो भन्दै सरले सर मिसलाई देखाउँदै बेइज्जत गरेको छात्राले बताइन् । उनले भनिन् ‘तर त्यो भिडियोमा म थिइन कहाँको भिडियोलाई मेरो हो भन्दै मिसले समेत कक्षा कोठामा सार्वजनिक रूपमा देखाउँदै बेइज्जत गर्नुभयो ।’

छात्राले भनिन् ‘अफिसमा गएर सर र मिस र साथीहरू भेला गर्दा सरहरूले साथीहरूलाई लखेट्नु भयो, गोपाल सर एक छिन भन्दै २ पिरियड सकिदा समेत नआई हराउनु भयो, स्कुल आउनु भएन ।’ पछि हेडसर वा कुनै सरले फोन गरेपछि आएर छलफल भयो साथीहरूको सरहरूसँग भनाभन भएपछि साथीहरूलाई लखेटेर मलाई एक्लै पारेर सरहरूले गाली समेत गर्नु भयो ।’

त्यो दिन विद्यार्थीहरूले कक्षा बहिस्कार समेत गरेको छात्राले बताइन् । छात्रा पुकोर्टी (नाम परिवर्तन) ले भनिन् ‘हेडसरले यस्तो कुरा बाहिर नलैजानु भन्दै, मिसलाई माफी माग्नु लगाउनु भयो, तर गोपाल सरले गल्ती गर्नु भएको थियो हेडसरले मिसलाई माफी माग्नु लगाउँदा मिसले मैले गल्ती गरेँ माफ देऊ भन्दै माफ माग्नु भयो ।’

कक्षा १० (ख) की छात्रा सिम्रन राई (नाम परिवर्तन) ले भनिन ‘गोपाल सरले मेरो साथीको बेइज्जत गर्दै विद्यार्थीहरू माझ अनर्गल प्रचार गर्दै 'भिडियोको केटी उ नै हो' भन्दै देखाएको, मिसले समेत यो भिडियो तिम्रो हो भन्दै सबै विद्यार्थीहरूको माझ देखाउँदै हिँड्नु भएको थियो ।’

शिक्षिका र शिक्षक गोपाल गुरागाईँले भिडियो 'तिम्रो भन्दै देखाउँदै हिँडेकोले' स्कुल प्रशासनमा खबर गर्दा शिक्षिकाले विद्यार्थीलाई कराउँदै आफै ‘मेरो गल्ती भयो भन्दै’ गोपाल सरलाई बचाएको सिम्रनको भनाई छ । उनले भनिन ‘हामी भन्दा अघिल्लो ब्याजका दिदिहरुलाई पनि सरले तेस्तै गर्नु हुन्थ्यो भनेर दिदीहरूले सुनाउनु हुन्थ्यो ‘यो सर तँ बोका छ, ढाँड छाम्छ, ब्रा चलाउँछ, जोगिनु तिमीहरू भन्नु हुन्थ्यो ।’

अर्का विद्यार्थी कक्षा १० (ख) की रमा राई (नाम परिवर्तन) लाई समेत शिक्षक गुरागाईँले तेस्तै व्यवहार गरेको बताइन् । कक्षा ९ को सेक्सन (बि) मा अध्ययनरत प्रश्ना राईले भनिन साथीको 'बर्थडे'मा चकलेट दिन जाँदा सरले साथीको हात सुम्सुमाउने र ढाड चलाएको बताइन ।

उनले भनिन 'सरले सबै विद्यार्थीहरूलाई कति राम्री भन्दै छेउमा बोलाउँदै ढाड सुम्सुमाउने गर्नुहुन्छ ।’उनले साथीहरूले सरको नाम नै 'बोका' राखिदिएको बताइन् । स्कुलका प्रधानाध्यापकलाई कम्प्लेन गर्न जाऔँ भन्दा साथीहरू डराउने गरेको उनको भनाई छ ।

अर्का विद्यार्थी नम्रता मगर, दिव्या राईले समेत गोपाल गुरागाईँले विद्याथीहरुलाई दुर्व्यवहार गरेको बताए। 

वास्तविकता बुझेर कारबाही गर्छु : प्रधानाध्यापक श्रेष्ठ

शिक्षक गोपाल गुरागाईँको यौन दुर्व्यवहारका विषयमा प्रधानाध्यापक देव कुमार श्रेष्ठ सँग सम्पर्क गर्दा उनले भने ‘सामान्य भिडियो देखाएको कुरा मात्र सुनेको छु । भिडियो आएको कुरालाई सर र मिसलाई राखेर माफी मगाएको हो ।’

उनका अनुसार दुवै पक्षलाई राखेर मेलमिलाप गराएको हो । तर बाँकी विद्यार्थीहरूबाट अरू कुरा नआएको बताउँदै भन ‘कुरा के हो वास्तविकता बुझेर कारबाही गर्छु ।’

विद्यार्थीलाई माया गरेर सुम्सुमाएको हुँ : शिक्षक गुरागाईँ 

शिक्षक गोपाल गुरागाईँसँग सम्पर्क गर्दा उनले भने ‘मैले केही गल्ती गरेको छैन ४६ वर्षको भएँ, १५ वर्ष भयो शिक्षक पेशामा कार्यरत भएको आज सम्म कुनै विद्यार्थीलाई छोएर समेत बोलेको छैन ।’

उनले छात्राहरूले उनको यौन दुर्व्यवहारका बारेमा बताएको कुराका बारेमा प्रश्न गर्दा उनले भने ‘म प्रतिको आक्रोश मात्र हो, कसैले मिथ्या आरोप लगाइदिएका हुन ।’ मलाई कसैले फसाउन खोज्दैछन ।’

आफूले विद्यार्थीलाई दुर्व्यवहार नगरेको दाबी गर्दै शिक्षक गुरागाईँले छात्राहरूलाई छुने सुम्सुम्याउने गरेको भने स्वीकार गर्दै भने ‘विद्यार्थीहरूलाई मायाले ढाड सुम्सुमाएको सत्य हो तर दुर्व्यवहार गर्ने नियतले गर्न खोजेको होइन मेरो चरित्र हत्या मात्र गर्न खोजेका हुन विद्यार्थीहरूले ।’