धरान : सोमवार राती देखी परेको मनसुनी वर्षाले पूर्वको तराई भेग प्रभावित भएको छ । साताअघि पहाडी क्षेत्रमा वर्षाले बढी पहिरोबाट धनजनको क्षति गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागले देशको पूर्वी भूभागमा मनसुनी वायुको सक्रिय प्रभाव देखिएको जनाएको छ । सोही कारण कोशी प्रदेशका तराईमा भारी वर्षा भएको हो । नदी खोलाहरूको जलस्तर बढेकाले विभागले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

विभागका अनुसार धरानमा २४ घण्टामा १३९ दशमलव ४ मिलिमिटर भारी वर्षा मापन गरिएको छ ।  मोरङको लेटाङमा १८३ मिलिमिटर वर्षा भएको छ । झापाको कन्काइमा १४२ दशमलव ६, मैनाचुलीमा १३१ दशमलव ८ मिलिमिटर पानी परेको छ ।

कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव बढेको छ । काठमाडौँ उपत्यका आसपास र पोखरामा चक्रीय प्रणाली विकास भएको बताइएको छ । पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकको डुङ्गेमा ३७ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।