धरान : संसारभर अङ्ग्रेजी तारिख जुन २१ मा मनाइने विश्व सङ्गीत दिवस धरानमा चर्चित गायकहरूको लाइभ कन्सर्ट सहित मनाइन्थ्यो ।

यसपालि भने कार्यक्रम गर्ने बजेट नहुँदा ईन्डोर कार्यक्रममै सङ्गीत दिवस सीमित हुने भएको छ । धरान सङ्गीत प्रतिष्ठानले मनाउँदै आएको विश्व सङ्गीत दिवसको बारेमा आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

प्रतिष्ठानका अध्यक्ष रमेश राईले भने, 'धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०७९/८० को बजेटमा सङ्गीत दिवसको बजेट रातो किताबमै समेटिने प्रतिबद्धता जनाए पनि रकम नछुट्याउनु भएकोले यसपालि ईन्डोर कार्यक्रम गर्ने तयारी भएको छ ।'

सन् १९८२ देखि मनाउन थालिएको विश्व सङ्गीत दिवस नेपालमा २०५४ देखि काठमान्डुमा मनाइँदै आएको छ । काठमान्डु बाहिर धरानमा २०७० देखी धरान सङ्गीत प्रतिष्ठानले मनाउँदै आएको हो ।

प्रतिष्ठान २०७० सालमा वरिष्ठ गायक, सङ्गीतकार दीप श्रेष्ठको अभिभावकत्वमा स्थापना भएको थियो । त्यसैबेला देखीको निरन्तरतालाई यसपालि पनि जारी राख्न विश्व सङ्गीत दिवस मनाउन धरान सङ्गीत प्रतिष्ठानले तयारी सुरु गरेको छ ।

यसपालि असार ७ गते शुक्रवार धरान-८ बराह कम्प्लेक्सको चौथो तलामा ईन्डोर सङ्गीत दिवसको कार्यक्रम हुने बताइएको छ ।

संगीतिक समारोहका बिच सङ्गीत गुरु सन्दीप प्रधान र विनोद प्रियदर्शीलाई सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष वडा २ अध्यक्ष रमेश राईले बताए ।

वरिष्ठ गायक दीप श्रेष्ठले कलाकारितामा पार्टी कारिता नहुने बताउँदै भने, ‘काठमान्डुमा ठुलो प्रोग्राम हुने भएपनि धरानको माटो प्यारो भएकोले विश्व सङ्गीत दिवस मनाउन धरान आएको छु ।’