धरान : सडकमा पैदल यात्री, सवारी साधन धनी, चालक, सहचालक लगायत सरोकारवालाहरूलाई ट्राफिक सचेतना बढाउँदै दुर्घटना न्यूनीकरण कार्यक्रम सहितको ट्राफिक सप्ताह आज बिहीबार देखी सुरु भएको छ ।

धरान स्थित सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरीले बजार परिक्रमा गर्‍यो । भानुचोकबाट छाताचोक, सिंहदेवी चोक, पुरानो बजार हुँदै देशीलाइन सिद्धि नेवा: परिषदमा ट्राफिक सप्ताहको औपचारिक उद्घाटन भएको हो ।

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले सप्ताहको उद्घाटन गरेका थिए । प्रभातफेरीमा सङ्घसंस्था सहित विद्यालयका छात्रछात्राहरूको सहभागिता थियो ।

जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सुवास केसीले चालक सहचालक, यात्रु, सवारी साधन धनीलाई सचेतना गराउँदै दुर्घटना न्यूनीकरण गर्ने अभियानको रूपमा ट्राफिक सप्ताहको कार्यक्रम आयोजना गराएको बताए ।

कार्यक्रममा वडाध्यक्षहरू राजनैतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो ।

Traffic Saptah