वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले पोषण तथा नवजात शिशु र बाल रोगहरूको समुदायमा आधारित एकीकृत व्यवस्थापन कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय समीक्षा गरेको छ ।

५ वर्ष भन्दा कम उमेर समूहका बालबालिकाहरूले नियमित लगाउने खोप, स्वास्थ्य परीक्षण, उमेर अनुसारको तौल, पोषण तत्त्व तथा गर्भवती आमा तथा सुत्केरी आमाहरूले खाने आइरन चक्की, भिटामिन ए, पोषण तत्त्व लगायतको विषयमा नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाका प्रमुखहरूसँग छलफल तथा समीक्षा गरेको हो । समीक्षा कार्यक्रम बिहीबार र शुक्रवार दुई दिन आयोजना हुने वराहक्षेत्र स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले बताए ।

समीक्षा कार्यक्रममा चतरा अस्पताल, प्राथमिक स्वास्थ्य चौकी महेन्द्रनगर, भरौल, प्रकाशपुर र प्राथमिक स्वास्थ्य केन्द्र मधुवनका प्रमुख तथा प्रतिनिधिहरूले आआफ्नो कार्य प्रस्तुत गरेका छन् ।

नगरपालिका भित्र रहेका ५ वर्ष भन्दा कम उमेर समूहका बालबालिकाहरूले पाउनु पर्ने पोषण तत्त्व, खोप, लाग्ने रोग तथा गर्भवती आमा तथा सुत्केरी आमाहरूका लागि आवश्यक तत्त्वको विषयमा समीक्षा गरिएको वराहक्षेत्र स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले बताए ।

वराहक्षेत्र स्वास्थ्य शाखाकी प्रमुख सुलोचना चौधरीको प्रमुख आतिथ्ययतामा भएको उक्त स्वास्थ्य संस्था स्तरीय पोषण तथा नवजात शिशु र बाल रोगहरूको समुदायमा आधारित एकीकृत व्यवस्थापन कार्यक्रमको समीक्षा कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल रहेका थिए ।  कार्यक्रममा प्रशासन प्रमुख राजकुमार गौतम, नगरपालिका भित्रका अस्पताल, स्वास्थ्य केन्द्र, चौकी, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।