धरान : नाटक लेखक, पत्रकार महासङ्घका सुनसरी जिल्ला सभापति जनकऋषि राईले पिता स्व. लक्ष्मण राईको स्मृतिमा रङ्गकर्मी पुरस्कारका लागि १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

कोषको सञ्चालन धरान स्थित रङ्गभूमि एकेडेमीले गर्नेछ । अक्षयकोषको रकमबाट आउने व्याज रकमबाट ‘लक्ष्मण स्मृति रंगकर्म सम्मान/पुरस्कार’ प्रदान गर्न एकेडेमीसँग संस्थापक जनकले ७ बुँदाको सम्झौता गरेका छन् ।

संस्थापक जनक ऋषिको परिवारको उपस्थिति आज शुक्रवार बिहान आयोजित पत्रकार सम्मेलन बिच रंगभूमि एकेडेमीका अध्यक्ष विष्णु मोक्तानसँग सम्झौता पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरियो ।

‘लक्ष्मण स्मृति रंगकर्म अक्षय कोष’को व्याज रकमबाट एकेडेमीले प्रत्येक वर्ष रङकर्मीलाई सम्मान/पुरस्कार प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

अक्षयकोषमा अन्य श्रोतबाट रकम थप्न सकिने व्यवस्था छ । सम्झौताको अवसरमा धरान वडा १७ का अध्यक्ष मनोज भट्टराईले १५ हजार रुपैयाँ थप गरेका थिए ।

जनक ऋषिका पिता लक्ष्मण राई पेसाले शिक्षकका साथै धरानका क्रियाशील रङ्गकर्मी थिए । २०५० को दशकमा उनले मातृभाषामा ‘लाम लाम्सा’ नाटक लेखेर मञ्चन समेत गराएका थिए ।

छोरा जनकऋषि स्वयं पनि नाटक लेखक हुन् । पछिल्लो समय उनले लेखेको नाटक ‘कुमार मामा’ धरानमा निकै दिन चलेको थियो । अक्षयकोष घोषणाको अवसरमा उनले भने, ‘बुवाको रंगकर्म प्रति रुझानलाई सम्मान गर्दै उनको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो ।’ उनले यसबाट धरानमा रंगकर्मको विकास र रङकर्मीलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

रङ्गभूमिका अध्यक्ष तामाङले अक्षयकोष सञ्चालनको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै धरानको रङ्गमञ्चमा अक्षयकोष स्थापनाले नयाँ हौसला प्रदान गरेको बताए ।

Rangkarmi Puraskaar 2