इटहरी : मुख्य बजार भएर बग्ने इटहरीको टेङ्ग्रा खोलाको कारण क्षति हुन थालेपछि उपमहानगरपालिकाले डुबान तथा कटान नियन्त्रणको तयारी तीव्र बनाएको छ ।

मङ्गलवारको बर्सातले टेङ्ग्रा खोलामा आएको बाढीको कारण ७ घर विस्थापित भएको र ५ वटा पुल भासिएपछि उपमहानगरले नियन्त्रणको तयारी सुरु गरेको हो ।

सरसफाइ अभियानको क्रममा खोलाको सतह बढी खनिएको हुँदा कटान भएर पुलहरू भासिएका थिए । सोही क्रममा खनार बजार आसपासका केही घर तथा व्यापारिक भवनहरू जोखिममा पर्दै गएका छन् । पुलहरू भत्किएको कारण उद्योगनै बन्द गर्नुपर्ने अवस्थामा पुगेको उद्योगीले गुनासो गर्दै आएका छन् ।

उता उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले डुबान नियन्त्रणको लागि खोला खन्दा कटान भएका हुनसक्ने बताए । तथापि उपमहानगरले कटान नियन्त्रणको लागि तयारी अगाडी बढाएको उनको भनाइ छ । विपत् व्यवस्थापनको लागि उपमहानगरको तर्फबाट सक्दो प्रयास भइरहेको उनले जानकारी दिए ।

‘केही ठाउँमा तारजाली लगाएको कारण क्षति कम हुने आकलन गरिएको छ । खेती खोलाको पनि नाप जाँच भइरहेको हुँदा डुबान नियन्त्रणतर्फ उन्मुख छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र नगर प्रहरीलाई परिचालन गरेर बोरामा गिटी भर्ने र कटान नियन्त्रणको काम भएको छ ।’, उनले भने, ‘सरसफाइ गर्दा खोला खन्न नपाएको स्थानमा कटान भएको छ । साँघुरो ठाउँमा पानीको फोर्स बढी भएर कटान भएको र फराकिलो ठाउँमा कुनै समस्या देखिएको छैन ।’

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी तत्कालको तयारीले खासै प्रभावकारी काम नहुने बताए । ठुलो क्षति हुनबाट रोक्न तारजाली लगाउने र बोरा भरेर केही रोकथाम भएपनि दीर्घकालीन नियन्त्रण नहुने उनको भनाइ छ । घर बनाउँदा स्वीकृति दिएको दिन देखी खोलाको नियन्त्रणको लागि गरिएका पूर्वाभ्यासले विपद् नियन्त्रणमा असर पुग्ने उनले प्रस्ट पारेका छन् ।

स्थानीय सरकारले विकाश निर्माण गर्दा नै विपत्तिको बारेमा सोच्नुपर्ने र अध्ययन अनुसन्धान गरेर कामकारबाही गर्नुपर्ने तिवारीको धारणा छ । विपद् व्यवस्थापन समितिबाट जनशक्ति तथा औजार उपकरणहरू तयारीको साथ राखिएको उनले बताए ।

Dubaan Kataan Niyantran 2

Dubaan Kataan Niyantran 3