धरान : धरान-१४ स्थित नरसिंह मन्दिरको जग्गा प्रकरण छानबिन गर्न बनेको समितिले महिनौँ दिन बित्न लाग्दा पनि छानबिन टुङ्गो लगाएको छैन ।

छानबिन समितिले महिना बित्दा पनि प्रतिवेदन सार्वजनिक नगरेकोमा संरक्षण समितिका अध्यक्ष टोमप्रसाद आचार्यले मिलेमतोको आशङ्का व्यक्त गरेका छन् । उनले भने ‘महिना दिनसम्म पनि प्रतिवेदन सार्वजनिक नहुँदा छानबिन समिति प्रभावित बनेको हो कि भन्ने प्रश्न उठेको छ ।’

धरान-१४ दुई धारे दक्षिणतर्फ रहेको उक्त मन्दिरलाई आचार्य परिवारले दानमा दिएको हाल धरान-६ पानबारीमा ७ कट्ठा ११ धुर जग्गा छ । उक्त जग्गा हडप्न दलालहरूले फर्जी कागजात बनाएको  समाचार प्रकाशित भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले जेठ ३ गते छानबिन समिति गठन गरेको थियो ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोज घिमिरेको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिमा धरान उपमहानगरका इन्जिनियर र नापी कार्यालय धरानका प्रमुख सदस्य छन् ।

छानबिन समितिलाई प्रतिवेदन बुझाउन ७ दिनको समय दिइएको थियो । त्यो समय सकेर १५ दिन थप गर्दा समेत समितिले छानबिनको कामलाई पूर्णता दिन नसकेपछी २५ दिनको समय सीमा पाएको थियो । तर, समिति गठन भएको महिना बित्दा पनि समितिले प्रतिवेदन दिएको छैन ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले आफू भर्खर आएकाले यस विषयमा जानकारी नभएको बताउँदै भने, ‘नबुझीकन प्रतिक्रिया दिन मिल्दैन, अव चाडै बुझ्छु ।’