धरान : धरान-६ पानबारी स्थित एभरेष्ट चिल्ड्रने एकेडेमी बोर्डिङ स्कुल प्याब्सन सुनसरीद्वारा शुक्रवार आयोजित क्विज कन्टेष्टमा सुनसरी जिल्ला प्रथम भएको छ ।

जिल्लाको ७ वटा नगरपालिकाको १९ वटा टिमलाई पछि पार्दै एभरेष्टले रनिङ सिल्ड हात पारेको हो । एभरेष्टका टिममा कृतिका प्याकुरेल, निशान विश्वकर्मा र कुशल प्याकुरेल सहभागी थिए ।

प्रतियोगितामा वराहक्षेत्रको मुनादिन एकेडेमी दोस्रो, वराहक्षेत्रकै चिल्ड्रने एकेडेमी तेस्रो र रामधुनीको युनिक इङ्लिस स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

विद्यार्थीमा अतिरिक्त ज्ञानप्रति चासो बढाउन प्याब्सन सुनसरीले क्विज प्रतियोगिता आयोजना गर्दै आएको प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जन तामाङले बताए ।

प्याव्सन सुनसरीले छनौट भएपछि मात्र विद्यालयलाई प्रतियोगितामा सहभागी गराउने गरेको छ । प्रतियोगितामा धरान, इटहरी, रामधुनी, वराहक्षेत्र, गढी गाउँपालिका, दुहबी र इनरुवा सहित ७ वटा विद्यालयका १९ जना विद्यार्थी सहभागी थिए ।

छनौट भएर इटहरी प्याब्सनमा भएको प्रतियोगितामा एभरेष्ट प्रथम हुन सफल भएकोमा भाइस प्रिन्सिपल चेतनाथ घिमिरेले खुसी व्यक्त गरे । नियम अनुसार लगातार तीन वर्ष जित हात पारेपछि मात्र शिल्ड विजेता विद्यालयले राख्न पाउने छ ।