धरान : लिम्बु भाषाको चलचित्र ‘खोक्पा’ र नेपाली चलचित्र 'बाध्यता'का कलाकार, प्राविधिकहरूलाई शुक्रवार वनभोज आयोजना गरी सम्मान गरिएको छ ।

‘खोक्पा’को निर्माण मिना हुक्पा चोङ्बाङले गरेकी हुन । लेखन तथा निर्देशन प्रकाश लिम्बुले गरेका छन् । कलाकारहरू प्रेम सुब्बा, नवीन मेन्याङ्बो, मिना हुक्पा चोङ्वाङ याक्सो, बादल चेम्जोङ, नुमा नेयोङ लिम्बु, तिरज लिम्बु, जोसेफ लिम्बु, यम सुब्बा, हिमाल लेचर्बो, तीर्थ मदेम्बा, नवीन पराजुली, समृद्धि लिम्बु, उर्मिला तामाङ मकर बहादुर नेयोङे छन् ।

छायाङ्कन, सम्पादन, कलर, ड्रोनको प्राविधिक आदम लिम्बुले गरेका छन् । नुमा नेयोङ र भूमिका नाल्बो फिल्मका सह निर्माता छन् । व्यवस्थापन सानुराजा थेगिम र राजीव दाहालले गरेका हुन ।

यसैगरी चलचित्र ‘बाध्यता’मा शारदा शाक्य, प्रकाश लिम्बु, रोजनी लिम्बु, रेन्सा लिम्बु, तिरज लिम्बु कञ्चन लिम्बु, अदम लिम्बु, लक्ष्मण खनाल, विनोद रसाइली, सुवास राई र इन्द्र लिम्बुको अभिनय रहेको छ ।

उनीहरूलाई प्रमुख अतिथि याक्थुङ चलचित्रकर्मी सङ्घका केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्बोबाट सम्मानित गरिएको हो ।

लिम्बु संस्कार संस्कृतिमा आधारित ‘खोक्पा’ले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिमले कलाकार प्रविधिकहरुलाई सम्मान कार्यक्रम सहित वनभोज गरेको हो ।‘बाध्यता’ एक सुन्दर परिवारको बाध्यतालाई मूल विषय बनाएर निर्माण गरिएको चलचित्र हो । यसमा नेपाली समाजको वास्तविकतालाई उजागर गर्ने कथा चित्रण गरिएको छ ।

प्रमुख अतिथि मेन्याङ्बोले लिम्बु चलचित्रको बजार स्थानीय भएकाले चलचित्रहरू च्यारिटी र विशेष शो गर्न बाध्य रहेको बताए । उनले भने ‘लिम्बु चलचित्रहरू व्यावसायिक प्रतिस्पर्धाका लागि भन्दा संस्कार र संस्कृतिलाई संरक्षणका लागि बनिरहेका छन् ।’

लिम्बू संस्कृतिमा छोरी चेली विवाह गरेर गएपछि रीतिरिवाज अनुसार कोसेलीको रूपमा ल्याइने सिङ्गो सुँगुरको रितलाई ‘खोक्पा’ भनिन्छ ।

cinema-samman