धरान : धरान-१४ विजयपुरमा शनिवार आयोजित पेटको रोग सम्बन्धी निःशुल्क शिविरमा १०४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

शिविर नेवा: पत्रकार राष्ट्रिय दवू र नेवार एकता समाज महिला समितिले आयोजना गरेको हो । शिविरमा डा.सन्दीपराज बज्राचार्यले स्वास्थ्य परीक्षण गरेका थिए । उनले नियमित ३ महिनामा चेकजाँच गर्दा बेलैमा रोग पत्ता लाग्ने बताउँदै समयमा ध्यान नदिँदा क्यान्सर सम्म हुने उल्लेख गरे ।

धरान-१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले वडावासीलाई पेटरोग सम्बन्धी विशेष सेवा प्रदान गरेकोमा डा. बज्राचार्य लगायत सबैलाई धन्यवाद दिए ।

समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले डा. बज्राचार्य बिपी प्रतिष्ठानमा रहेकाले बिरामीहरूलाई फलोअप गर्न सजिलो हुने बताए ।

शिविरमा बिरामीहरूलाई आवश्यक औषधी म्यानस फर्माले र बिर्तामोड डायोनोस्टिक सेन्टर एन्ड पोलिक्लिनिकले प्रेसर सुगर जाँचको सुविधा दिएको थियो ।

समाजले सामाजिक दायित्वका लागि शिविरको आयोजना गरेको नेवार एकता समाज महिला समिति संयोजक सुश्री विद्या शाक्यले बताइन् । पूजा कर्माचार्यको संयोजकत्वमा भएको शिविरमा, हरिकृष्ण श्रेष्ठ, शिला बज्राचार्य, अम्बिकादेवी श्रेष्ठ, श्याम श्रेष्ठ, वसन्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, राजन प्रधानले सहजीकरण गरेका थिए ।

शिविरको समापनमा डा. बज्राचार्यलाई सम्मान पत्र प्रदान गरिएको थियो । नेवा: पत्रकार राष्ट्रिय दवूले डा. बज्राचार्यबाट प्रत्येक महिनामा एक पटक स्थानीय सङ्घ संस्था समूहको सहकार्यमा स्वास्थ्य शिविरको आयोजना गर्ने योजना बनाएको दवूका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

Bijaypur Swasthya Sibir 081-03-09 2nd