धरान : साइबर संसारमा बहुचर्चित विकिलीक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट ५ वर्ष पछि मुक्त भएका छन् ।

उनलाई अमेरिकी सरकारसँग सम्झौता भएपछि मुक्त गरिएको बीबीसीले जनाएको छ । ५२ वर्षीय असाञ्जलाई अमेरिका सरकारको सुरक्षा सम्बन्धी गोप्य कागजातको फायल ह्याक गरेर सार्वजनिक गरेको आरोप लगेको थियो ।

इराक र अफगानिस्तानसँग सम्बद्ध उक्त कागजात सार्वजनिक हुँदा धेरै जनाको जीवन खतरामा परेको अमेरिकाले आरोप लगाएको थियो । असाञ्ज ५ वर्ष देखी बेलायती जेलमा कैद थिए ।

बेलायती जेलबाट मुक्त भएपछि उनले अब अमेरिकाको हिरासतमा बस्नु पर्दैन । अदालतको पत्र अनुसार असाञ्ज अस्ट्रेलिया फर्किने छन् ।

विकिलिक्सले सामाजिक सञ्जालमा एक पोष्टमा भनेको छ ‘जुलियन असाञ्ज स्वतन्त्र छन् । १९०१ दिन लामो कैदबाट २४ जुनमा मुक्त भए लगत्तै बेलमार्श जेलबाट बाहिर आएका छन् । लण्डन हाइकोर्टबाट उनलाई जमानत मिलेपछि स्टैस्टेड एयरपोर्टमा रिहा गरेपछि उनले बेलायत छोडेका छन् ।’

असाञ्जको रिहाइ विश्वव्यापी माग र संयुक्त राष्ट्र सङ्घमा समेत नेताहरूले आवाज उठाएपछि भएको विकिलिक्सले जनाएको छ । उनको रिहाइको मागपछि मात्र अमेरिकी सरकारसँग सम्झौता भएको उल्लेख गर्दै सम्झौताको विवरण भने विकिलिक्ससंग नभएको जनाएको छ ।