दमक : झापामा चट्याङले लागेर दुईजनाको मृत्यु भएको छ ।

आज बिहान वर्षासँगै परेको चट्याङले लागेर गौरीगञ्ज र कमलमा एक-एकजनाको मृत्यु भएको हो । मृत्यु हुने दुवैजना पुरुष हुन् ।

बिहान ८ः४५ बजेको समयमा गौरीगञ्ज गाउँपालिका वडा नं.३ ठेकिटोला बस्ने सिताराम दाहालको खेतबारीमा धानको बीउ उखाल्ने क्रममा गौरादह नगरपालिका वडा न. ८ बस्ने अन्दाजी ४२ वर्षका लीला भन्ने विकास गिरीको चट्याङले लागेर घटना स्थलमै मृत्यु भएको हो ।

त्यस्तै कमल गाउँपालिकामा चट्याङले लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा कमल गाउँपालिका वडा नम्बर २ समाई गढ बस्ने ४६ वर्षीय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको हो ।

आफ्नै घरबाट खेततर्फ जाने क्रममा अचानक परेको चट्याङले लागेर घाइते भएका खड्कालाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा बिहान ७ः४५ बजे अस्पताल पुराउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।